सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८० / ०८१ को लागि जेठ २४ गते सार्वजनिक गरेका नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य सुधारका कार्यक्रमहरु प्राथमिकतामा परेका छन् ।
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा सिमान्तकृत तथा सबै वर्गका बालबालिकालाई शिक्षाको पुहँचमा ल्याउनका लागि मुख्यमन्त्री शैक्षिक पुर्वाधार विकास तथा गुणस्तर सुधार कार्यक्रम अन्तर्गत बादी उत्थान छात्रवृति कार्यक्रमलाई अघि सारिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा गरिब, विपन्न, सहिद तथा बेपत्ता परिवार, अपाङ्गता, दलित, मुक्त मकैया कम्लहरी, हलिया र सिमान्तकृत वर्गका छात्रछात्रा तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा तथा चिकित्सा शिक्षातर्फको एमबिबिएस र एमडी अध्ययन गर्न छात्रबृत्ति प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पतालमा सेवा सुविधा विस्तार गरिने र सेती प्रादेशिक अस्पतालमा वर्न यूनिट सेवा विस्तार गरी आधुनिक निदान पद्धतीमार्फत सेवा प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी गाउँपालिका तथा नगरपालिकास्तरीय अस्पताललाई प्रदेश अस्पतालमा स्तरोउन्नती गर्न स्थानीय तहसँग समन्वय गर्ने र महिलाहरुको प्रजनन् स्वास्थ्यलाई विशेष प्राथमिकतामाराखि मातृ तथा बाल स्वास्थ्य सेवालाई सुदृढ बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा ‘स्वास्थ्य सुरक्षाका लागि बिमा’ तथा ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नारा सहितको कार्यक्रम प्रस्तुत गरिएका छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्य योजना कार्यान्वयनको साथै समाजमा रहेका छुवाछुत तथा भेदभाव, सामाजिक कुरीति, यौन तथा घरेलु हिंसा, मानव बेचबिखन, मानव अधिकार हनन् र विद्युतिय अपराध विरुद्ध सचेतना कार्यक्रम अघि सारिएको छ ।