INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य केन्द्रका कर्मचारीको लापर्वाहीका कारण सेवाग्राही मार्कामा

छविसपाथिभेरा गाउँपालिका—१ स्थित काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रका कर्मचारीको लापर्वाहीका कारण स्थानीय सेवाग्राहीहरुले सास्ती भोग्नु परिरहेको छ ।

स्वास्थ्य चौकीका कर्मचारीहरुले मनोमानी तरीकाले स्वास्थ्य चौकी खोल्ने र कार्यालय समय नबित्दै बन्द गर्ने गरेपछि सास्ती खेप्नु परेको स्थानीयले बताउनु भएको छ ।

छविसपाथिभेरा गाउँपालिका—१ स्थित काप्री गाउँका ३८ वर्षीय शिवराज जोशीले छोरालाई जेठ २४ गते झाडापखाला र टाउँको दुख्ने समस्याले पीडित भएपछि उपचारका लागि नजिकै रहेको काप्री स्वास्थ्य चौकी पुगाएको भएपनि स्वास्थ्यकर्मी नहुँदा चेकजाँच र उपचारविना नै घर फर्किन बाध्य भएको बताउनु भयो ।

स्वास्थ्य चौकीमा चेकजाँच गर्ने र औषधि दिने कोही नभएपछि गाउँमा अन्य व्यक्तिहरु विरामी पर्दा यस्तै समस्या झेल्नु परेको जोशीको भनाइ छ ।

वि.स.२०७३ सालमा स्थापना भएको सामुदायिक स्वास्थ्य केन्द्रको नयाँ भवन प्रदेश सरकारको २१ लाख र संघीय सरकारको ३९ लाख सहित ६० लाख रुपियाँको लागतमा गत वर्ष मात्रै निमार्ण गरेको थियो ।

स्वास्थ्य केन्द्र स्थापना भएदेखि नै एक जना अनमी, एक जना अहेव र एक जना कार्यालय सहयोगी गरेर तीन जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

अहेव उमेश कठायतले दुई वर्ष अघि नै आफैले मेडिकल सञ्चालन गर्नु भएकोले स्वास्थ्यचौकीको कामकाज छोडी सक्नु भएको र अनमी भुमिका सिंहले स्वास्थ्यचौकी दिउँसो नै बन्द गरेर फिर्किने गरेकोले सेवाग्राहीले सास्ती खेप्नु परेको स्थानीय सिद्ध जोशीले बताउनु भयो ।

यहाँले भन्नु भयो– ‘स्वास्थ्यचौकी कहिले खुला त कहिलै बन्द हुन्छ । कहिले स्वास्थ्यकर्मी भेटिदैनन् । नजिकै स्वास्थ्य संस्था भए पनि अन्य स्वास्थ्य संस्थामा जानु पर्ने बाध्यता छ ।’

स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षकी बुहारी समेत रहनु भएकी विष्नादेवी जोशीले आफ्नो अनुकुलतामा स्वास्थ्य चौकी खोल्ने र बन्द गर्ने गरेका कारण सेवाग्राहीले समस्या झेल्नु परेको स्थानीयहरुको आरोप छ ।

भौगोलिक रुपमा निकै विकट रहेको काप्रीगाउँमा ४५ परिवारको बसोबास रहेको छ । विकासको पुर्वाधारको नाममा गाउँमा एक स्वास्थ्यचौकी रहेको र त्यो पनि नियमित नखुल्दा सिटामोल पनि पाउन मुस्किल रहेको स्थानीयहरुको गुनासो छ ।

‘हामीले सामान्य उपचारको लागि पनि दुई घण्टा पैदल हिडेर बगड्गाउँको मटेला स्वास्थ्यचौकी पुग्नुपर्छ, गाउँको स्वास्थ्यचौकी कहिल्यै खुल्दैन् ।, स्थानीय बिन्दु जोशीले भन्नु भयो, ‘मटेला स्वास्थ्यचौकीमा पनि काप्रीगाउँ घर भनेपछि ओैषधि दिन मान्दैनन्, तिमीहरुको गाउँमा किन माग्दैनौ भनेर थर्काउने गर्छन ।’ गाउँमै स्वास्थ्यचौकी स्थापना भएको आठ वर्ष भए पनि आफूहरु आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको उहाँको गुनासो छ ।

स्वास्थ्य केन्द्रका अहेव कठायतले स्वास्थ्य केन्द्र घरबाट टाँढा रहेको, शौचालय, खानेपानीको व्यवस्था नभएको र तलबको समेत राम्रो सुविधा नभएकाले काममा जान छोडेको बताउनु भयो ।

मेडिकल चलाउदै आएका कठायतले स्वास्थ्य केन्द्रमा काम गर्न छोडेको दुई वर्ष वितिसक्दा पनि गाउँपालिकाले नियमित तलब दिने गरेको पाइएको छ ।

यससम्बन्धमा स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष प्रयागराज जोशीले अहेव कठायतले किर्ते हाजिर गरेर तलब लिने गरेको बताउनु भयो ।

उहाँले यो विषयमा आफुले गाउँपालिकामा पटकपटक कुरा उठाएको भए पनि आफ्नो कुरालाई व्यवास्था गर्ने गरेको बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष बसन्त चलाउनेले गाउँपालिकामा सर्वपक्षीय बैठक बोलाएर अहेव कठायतलाई तलब नदिने निर्णय भइसकेको बताउनु भयो ।

गाउँपालिका स्वास्थ्य संयोजक अमरबहादुर थापाले कर्मचारीको हाजिरीको विषयमा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले आफ्नो धारणा व्यक्त नगर्दासम्म तलव रोक्का गरिएको बताउनु भयो ।

सरकारले २०७५ सालमा निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाँच वर्षभित्र सबै नेपालीको पहुँचमा पु¥याउने लक्ष्य राखेको थियो । आर्थिक वर्ष २०७९ / ०८० सम्म सबै नेपालीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दीर्घकालीन योजनामा पुरा हुन सकेको छैन । अझैपनि दुर्गमका नागरिकहरु स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।

अन्य

भिडियो