असार १४ गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता प्रदेश नम्बर पाँच अन्तर्गतका जिल्लाहरूमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार जिल्लाका तीन गाउँपालिका र तीन नपामा राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
२० वर्षपछि हुन लागको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिन सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता र स्थानीय जनता उत्साहपूर्वक निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
राजनीतिक दलहरूले जुलुस, र्यालीसँगै आ-आफ्ना राजनीतिक दलका चुनाव चिन्ह अङ्कित टिसर्ट, टोपी जस्ता आचारसंहिता उल्लङ्घन हुने चुनाव प्रचार समाग्री प्रयोग गरेको समेत पाइएको छ । सबै ठाउँमा शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको र कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदिपकुमार डिसिले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा बाधा पुर्याउने गतिविधिमा लागेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी(विप्लव) समूहका दुई जना कार्यकर्तालाई असार ३ गते गिरफ्तार गरेको छ ।
प्रहरीले सो पार्टीका जिल्ला सचिवालय सदस्य योगेन्द्र चौहानलाई सन्धिखर्क नपा-१ तुमकोटबाट र कार्यकर्ता महकल मियाँलाई छत्रदेव गाउँपालिका-३ बल्कोटबाट गिरफ्तार गरेको इन्स्पेक्टर डिसिले जानकारी दिए ।
इन्सेक नवलपरासीका जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा राजपाका १९ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा रामग्राम नपा-१ निवासी राजपाका जिल्ला संयोजक ५० वर्षीय पुरन चौधरी, सोही नपा-१७ का ४० वर्षीय हैदर अलि मोमिन, सोही नपा-६ का ६० वर्षीय लक्ष्मीनारायण गुप्ता, वडा नं १७ का ६० वर्षीय राजेन्द्र तिवारी, पाल्हीनन्दन-५ का २२ वर्षीय अशोककुमार गुप्ता, वडा नं-३ का ४३ वर्षीय तारेन्द्र वर्मा, वडा नं ८ का ४० वर्षीय शेषनारायण केवट रहेका छन् ।
त्यस्तै रामग्राम-८ का २४ वर्षीय निरज रौनियार, सोही ठाउँका १६ वर्षीय एक बालक, वडा नं ७ का ६० वर्षीय रामेश्वर केवट, वडा नं ९ का ५२ वर्षीय रामसमझु पासी, राजपाका केन्द्रिय उपाध्यक्ष वडा नं. ८ निवासी ५५ वर्षीय गोविन्द चौधरी, ८ कै ४९ वर्षीय जयराम गुप्ता, १२ का ४५ वर्षीय लोकबहादुर चौधरी, वडा नं २ का ३० वर्षीय मुरारी अग्रहरी, २१ वर्षीय राहुल अग्रहरी, सोही ८ का ५० वर्षीय रामसुरत चौधरी, रामग्राम-१५ का ६५ वर्षीय रामजी सैथवार र १५ कै ३७ वर्षीय इन्दल सिंह सैथवार रहेका छन् ।
गिरफ्तार गरिएका मध्ये रामजी सैथवार, इन्दल सैथवार र लक्ष्मी गुप्तालाई ४ गते र बाँकीलाई ३ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी पाल्हीनन्दन गाउँपालिका-५ का लागि नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार ६० वर्षीय रामदेवर रजकलाई उम्मेदवारी दिएको आरोपमा अज्ञात व्यक्तिहरूले कुटपिट गरी घाइते बनाएका छन् ।
रजकलाई उम्मेदवारी दर्ता गराएर फर्कने क्रममा सोही ठाउँमा पर्ने बाटोमा चार/पाँच जनाको समूहमा मोटरसाइकलमा आएको समूहले बाटो छेकी रोकेर कुटपिट गरी घाइते बनाएको नेपाली काङ्ग्रेसका जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिए । पीडितको स्थानीय मेडिकलमा उपचार भएको छ ।
त्यस्तै सरावल गाउँपालिका-६ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार ५९ वर्षीय नन्दलाल तेलीलाईसमेत उम्मेदवारी फिर्ता नलिए ‘कारबाही’ गर्ने धम्की आएको लामिछानेले बताए ।
प्रदेश नं. ५ मा पर्ने चार गाउँपालिका र तीन नगरपालिकामा दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रम शान्तिपूर्ण तरिकाले सम्पन्न भएको प्रहरीले जनाएको छ ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार यहाँका १० ओटै स्थानीय तहमा उत्साहका साथ शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको छ ।

यद्यपी जिल्लाको वाणगङ्गा नपा-४ गजेरामा बम विष्फोट हुँदा दशजना घाइते भएका छन् । नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलका उम्मेदवारहरू उम्मेदवारी दर्ता गर्न जाने क्रममा बाटोमा साइकलमा राखिएको टाइम बम विष्फोट भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । सुरूमा प्रहरीले चारजना घाइते भएको बताएपनि हाल घाइतेको सङ्ख्या १० जना रहेको जानकारी प्राप्त भएको छ ।
घाइते हुनेमा वाणगङ्गा नपा-७ का ३८ वर्षीय लालबहादुर थारू, सोही ठाउँका ४५ वर्षीय शेषराज गुप्ता, ५ का २२ वर्षीय विजय थारू, सोही ठाउँका २४ वर्षीय कमलेशप्रसाद लोनिया, ९ का २२ वर्षीय सुशीला गुरूङ र उनकी सात महिने छोरी मिनाक्षी गुरूङ, ५ का ५० वर्षीय विजय थारू, ९ का २४ वर्षीय रूपलाल गुरूङ, ४ का ६० वर्षीय चमकला पौडेल र ९ का २८ वर्षीय साबुदिन मनिहार रहेका छन् ।

घटनामा गम्भीर घाइते कमलेशप्रसाद लोनिया र साबुदिन मनिहारको उपचार लुम्बिनी अञ्चल अस्पतालमा भइरहेको र बाँकीको स्थानीय मेडीकलमा उपचार भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिएका छन् ।
यसैगरी प्रहरीले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा राष्ट्रिय जनता पार्टीका १२ नेता तथा कार्यकर्तालाई तौलिहवाबाट गिरफ्तार गरेको छ । साथै जिल्ला भरबाट निर्वाचन विरोधी गरेको आरोपमा ३४ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार गुल्मी जिल्लामा हर्षोउल्लासका साथ उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा उत्साहका साथ मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका सबै स्थानमा शान्ति र खुसियालीका साथ मनोनयन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले जानकारी दिए ।


पाल्पा जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमल्सिनाका अनुसार दुई नपा र आठ गाउँपालिका रहेको पाल्पा जिल्लाका सबै स्थानमा शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ । जिल्लाका मुख्य निर्वाचन अधिकृत भरतमणि खनालले जिल्लामा हालसम्म शान्तिपूर्ण अवस्थामा निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन भइरहेको जनाएका छन् ।
इन्सेक रूपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार यही असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता कार्य रूपन्देहीमा शान्तिपूर्ण रूपमा सफल भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले रूपन्देहीमा उत्साहजनक रूपमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको बताए । उनले रूपन्देहीका सबै राजनीतिक दलहरूसँग नियमित समन्वय र सहकार्य भएकोले पनि यस्तो परिणाम आएको बताए ।
प्रजिअ सिंहले रूपन्देहीका जम्मा २ सय ८ ओटा मतदान स्थलमध्ये जिल्ला सुरक्षा समितिले ७५ ओटा मतदानस्थल अति सम्वेदनशील, ३९ ओटा सम्वेदनशील र ९४ ओटा स्थान सामान्य भनेर वर्गीकरण गरेको भए पनि मनोनयन दर्तामा त्यस्तो कुनै कुरा नपाइएको बताए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले शान्ति सुरक्षाको अवस्था सोचे भन्दा धेरै राम्रो भएको बताए । डिएसपी पाण्डेका अनुसार रूपन्देहीमा कोही कसैलाई पनि अशान्तिका नाममा गिरफ्तार गर्न परेन ।