नेपाल मानव अधिकार आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयको टोलीद्वारा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका विभिन्न ठाउँमा अनुगमन गरिएको छ ।
निर्वाचनमा हुने आचारसंहिता उल्लङ्घन, प्रचारप्रसार र मतदाता शिक्षालगायतको विषयमा अनुगमन गरिएको मानव अधिकार अधिकृत पवनकुमार भट्टले बताए ।
उहाँका अनुसार जिल्लाको दोगडाकेदार गाँउपालिका, सुर्नयाँ गाँउपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकालगायतका ठाउँमा अनुगमन गरिएको हो ।
विषेश गरी भयरहित वातावरणमा प्रचारप्रसार गर्न पाउने अधिकार, बाल अधिकार र मतदाता शिक्षा अधिकारबारे अनुगमन गरिएको उनको भनाइ छ ।
आयोगको क्षेत्रीय कार्यालयबाट मानव अधिकार अधिकृत पवनकुमार भट्ट नेतृत्वको तीन सदस्यीय टोली बैतडी आएको थियो ।
जिल्लाका विभिन्न ठाँउमा रहेका मतदाताहरूले आफूहरूलाई अहिलेसम्म मतदाता शिक्षा नदिएको गुनासो गरेको सो टोलीले जनाएको छ ।