INSEC Online

📅 २०८३ जेष्ठ २१

चुनाव हुन दिन्न भन्ने अधिकार कसैलाई छैनः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले जनताको मत हाल्न पाउने अधिकार कसैले पनि कुण्ठित गर्न नमिल्ने बताएका छन् ।

विराटनगरमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले असार ३ गते आयोजना गरेको ‘मानव अधिकार र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्याकुरेलले चुनाव बहिष्कार गर्ने, मत नहाल्ने अधिकार भए पनि अरूलाई पनि रोक्छु भन्ने अधिकार कसैलाई नभएको बताए ।

राजपाका केन्द्रीय सदस्यहरूले सामाजिक सञ्जालमा चुनाव रोकेर देखाउने भन्दै भोट हाल्नेलाई कारबाही गर्छु भन्ने प्रचार गरेको बताउँदै राजपाले राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य र मान्यताको समेत खिल्ली उडाएको आरोप लगाए ।

उनले राजपाले निर्वाचन बहिष्कार गर्ने नभई निर्वाचनमा भाग लिएर जनताको म्याण्डेटसहित आफ्ना मुद्दा स्थापित गराउनेतर्फलाग्नुपर्नेमा जोड दिए । लोकतन्त्रमा आस्था राख्नेले पद्धतिबाट आउने नतिजालाई स्वीकार्न सक्नुपर्छ भन्दै अध्यक्ष प्याकुरेलले राजपाको अहिले नेतृत्वमा देखिएका सबै ब्यक्तिहरूको छवी हेर्दा लोकतन्त्रका नायकहरू नै देखिएका तर तिनै नेताले आफ्नो अनुकूलतामा कुनै कुरा भएन भन्दैमा लोकतन्त्रको मूल्य र मान्यतालाई नै मान्दैनौ भन्नु सरासर गलत भएको बताए ।

कार्यक्रममा नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले निर्वाचन भाँड्नु भनेको दण्डनीय कार्यको भागिदार बने सरह हुने भन्दै राजनीतिक पार्टी यस्ता कामको भागिदार हुन नहुने बताए । उनले स्वच्छ निर्वाचनको लागि मानव अधिकारकर्मी भन्दा राजनीतिक दल बढी जिम्मेवार हुने भन्दै दलहरूलाई जिम्मेवार हुन आग्रह गरे ।

मधेस मामिलाका जानकार डा. राजेश अहिराजले हाम्रो देशमा पक्षीय प्राज्ञिक चिन्तन र संरचनागत विभेदले समस्या सिर्जना गरेको बताए । उनले कुनै ठाउँ वा जातिको समस्याको विषयमा कुरा उठाउन सोही क्षेत्रकै हुनुपर्ने र आफ्नो क्षेत्रभन्दा बाहिरका अरूले आफू समान अधिकार पाउनु हुँदैन भन्ने मान्यतानै अहिलेको राजनीतिक समस्याको जड भएको बताए । कार्यक्रममा अधिकारकर्मी, सञ्चारकर्मी, सङ्घसस्थाका प्रतिनिधिहरूलगायत प्राज्ञिक व्यक्तिहरूको सहभागिता रहेको थियो ।

अन्य

भिडियो