INSEC Online

📅 २०८३ जेष्ठ २१

बाजुराका ६ ओटा मतदान केन्द्र सञ्चारविहीन

आगामी असार १४ गते गर्न लागिएको स्थानीय तहको चुनावमा बाजुराका ६ ओटा मतदान केन्द्र सञ्चारविहीन हुने भएका छन् ।

हिमाली गाउँपालिकाका चार ओटा केन्द्र र गौमूल गाउँपालिकाका दुई ओटा केन्द्रहरू सञ्चारविहीन हुने भएका मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिएका छन् ।

बाजुरामा भौगोलिक विकटताले जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकाका सबै मतदान केन्द्रहरूमा सञ्चार जोड्न नसकेको नेपाल टेलिकमले जनाएको छ । बाजुरामा ७० ओटा मतदान स्थल र ९२ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनको समस्या समाधानका प्रहरी परिचालन गरिने प्रवन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए ।

निर्वाचन कार्यालयले बाजुराले निकालेको अन्तिम मतदाता नामावली अनुसार ३२ हजार ५ सय २१ पुरूष, ३२ हजार ४ सय २७ महिला र दुई जना तेस्रो लिङ्गी गरी ६४ हजार ९ सय ५० जनाले मताधिकार प्रयोग गर्न पाउने भएको जिल्ला निर्वाचन अधिकारी शुभद्रा गौतमले जानकारी दिइन् ।

जिल्ला सुरक्षा समितिले जिल्लाको सुरक्षाको लागि रणनीति अबलम्बन गरिसकेको छ । जसमा जिल्लाभर रहेका ९२ मतदान केन्द्र मध्ये ३३ ओटा मतदान केन्द्र अति सम्वेदनशील, ३० ओटा सम्वेदनशील र नौ ओटा सामान्य मानेर सुरक्षाको प्रबन्ध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी लामिछानेले सञ्चार सेवा नभएका ठाउँमा जानकारी दिनको लागि ‘प्रहरी परीचालन गरेर दुवै केन्द्रको बिचसम्म जाने र चिठ्ठी दिएर खबर आदान प्रदान गर्ने प्रबन्ध गरेका छौँ । अन्य विकल्प नभएपछि मान्छेलाई परिचालन गर्नुपर्ने बाध्यता छ ।’-उनले भने ।

अन्य

भिडियो