भरतपुर कारागारमा रहेका कैदिबन्दीको लागि नेपाल औषधि तथा विक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए) नारायणगढ इकाइले औषधि हस्तान्तरण गरेको छ ।
सङ्घका अध्यक्ष धर्मदत्त दवाडीले कारागार कार्यालयका प्रमुख कमलप्रसाद आचार्यलाई विभिन्न ३१ प्रकारका औषधि हस्तान्तरण गर्नुभएको हो ।
विभिन्न रोगको नियमित औषधि सेवन गर्ने कारागारका कैदिबन्दीलाई औषधि अभाव भएको समाचार इन्सेक अनलाइनमा प्रकाशित भएपछि कारागार प्रशासनलाई औषधि सहयोग गरिएको सङ्घका अध्यक्ष दवाडीले बताउनु भयो । उहाँका अनुसार करिब डेढ लाख रुपियाँ बराबरको औषधि हस्तान्तरण गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कैदिबन्दीको लागि औषधि सहयोग गरिएको उहाँले बताउनु भयो ।
कारागारमा चार आश्रित बालबालिकासहित सात सय ५६ जना कैदिबन्दी छन् । जसमध्ये मुटुरोगका चार, उच्च रक्तचापका ६०, मधुमेहका २६, क्षयरोगका दुई, मानसिक रोगका ६, एचआइभी एड्सका ६, थाइराइडका तीन र छारे रोगका चार जना बिरामी कैदिबन्दी छन् ।
एचआइभीका पाँच बिरामीले नियमित एआरटी खाने गरेको कारागार प्रमुख आचार्यले जानकारी दिनुभयो ।
कैदिबन्दीको लागि औषधि किन्ने बजेट हरेक वर्ष घटेर आउने गरेको छ । गएको डेढ महिनादेखि औषधि व्यवस्थापनमा एकदमै कठिन भएको थियो ।
प्रमुख आचार्यले भन्नुभयो, ‘कारागार भित्र रहेका कैदिबन्दीले पनि उपचार पाउने उनीहरूको अधिकार हो । औषधि सहयोग पाएपछि हामीलाई सञ्जिवनी पाए सरह भएको छ ।’
