स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिताको उल्लङ्घन पनि व्यापक रूपमा हुन थालेको छ । अधिकांश निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने राजनीतिक दलहरू रहेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले असार १ गते धनकुटामा आयोजना गरेको निर्वाचन पूर्वको मानव अधिकारको अवस्था विषयक अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरूले राजनीतिक दलहरूले आचारसंहिताको पालना नगरेको गुनासो गरेका छन् ।
सो अवसरमा बोल्दै मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदीले विभिन्न राजनीतिक दलहरूले जुलुस, आमसभामा बालबालिकालाई पार्टीको टिसर्ट, टोपीसहित सहभागी गराएको बताए ।
उनले निर्वाचन आचारसंहिता विपरीत दलहरूले तोकिएको साइजभन्दा ठूलो झण्डा बनाउने, सार्वजनिक स्थल, बिजुलीको पोल, स्कूलको छेउछाउमा झण्डा गाड्ने जस्ता कार्य भइरहेकाले तत्काल बन्द गर्न आग्रह गरे ।
नागरिक समाजका अध्यक्ष दोर्णप्रसाद गुरागाईँले प्रशासनको अनुमति बिना राजनीतिक दलहरूले गाउँ-गाउँमा जुलुस, आमसभा गरेको उल्लेख गर्दै यस्ता निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू तत्काल बन्द गराउन प्रशासनसँग आग्रह गरे ।
पर्डेप नेपालका कार्यकारी निर्देशक नरेशप्रसाद श्रेष्ठले दलहरूले निर्वाचन आचारसंहिताले तोकेभन्दा बढी खर्च गरेर मतदाताहरूलाई प्रभावित गर्ने गरी दल विशेषको टिसर्ट, टोपी बाँड्ने, सार्वजनिक सवारी साधनहरूमा झण्डा गाड्ने, गाडीमार्फत माइकिङ गर्ने जस्ता कार्य गरेकाले तत्काल बन्द गर्न प्रशासन समक्ष माग गरे ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले यदि कसैले निर्वाचन आचारसंहिता विपरीत पार्टीको कार्यक्रम गरेको भए तत्काल प्रशासन लिखित रूपमा जानकारी गराउन आग्रह गरे । उनले भने-‘अहिले गाउँ-गाउँमा पार्टीले स्थानीय प्रशासनको अनुमति बिना जुलुस, आमसभा गरेको सुनेकाले आगामी दिनमा त्यसो नगर्न दलहरूलाई आग्रह गरे । यदि त्यसो गरेको पाइएमा कानुन बमोजिम कारबाही अगाडी बढाइने छ ।’-प्रजिअ उप्रेतीले भने ।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका मानव अधिकार अधिकृत नवराज सापकोटाले सरोकारवालाबाट आएको सुझावलाई मध्यनजर गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण सृजना गर्न स्थानीय प्रशासनलाई आग्रह गरे ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले आफुहरूबाट निर्वाचन आचारसंहिताको कुनै कार्यहरू भएको भए आगामी दिनमा सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।