नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्व उपप्रधानमन्त्री तथा अर्घाखाँची क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई प्रहरीले ०८० वैशाख ३१ गते बुढानिलकण्ठ नगरपालिका-५ पासिकोटबाट गिरफ्तार गरेको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा गिरफ्तार परेका अभियुक्तहरूसँगको बयानका क्रममा नाम जोडिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले जिल्ला अदालत काठमाडौँबाट वैशाख २० गते अनुमति लिएर अनुसन्धानका लागि सांसद रायमाझीविरुद्ध गिरफ्तार पुर्जी जारी गरेको थियो ।
गिरफ्तार पुर्जी जारी भएपछि फरार रहेका सांसद रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले वैशाख ३१ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।
गिरफ्तारीमा परेका रायमाझीलाई प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको एसपी रिजालले बताउनु भयो ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप लागेकाले अनुसन्धानलाई अगाडि बढाउन सांसद रायमाझीलाई प्रहरीले गिरफ्तार गरेको एसपी रिजालले बताउनु भयो ।
त्यस्तै प्रहरीले रायमाझीका छोरा सन्दिप रायमाझीको नाममा गिरोहले काटेको डेढ करोडको चेक बरामद गरिसकेको छ । रायमाझीका छोरा सन्दीपलाई वैशाख २० गते नै प्रहरीले गिरफ्तार गरेको थियो ।
यहि प्रकरणमा नाम जोडिएपछि प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई वैशाख १९ गते, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेलाई वैशाख २० गते र पूर्व गृहमन्त्री बालकृष्ण खाँण र खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते गिरफ्तार गरेको थियो ।
प्रहरीले यसअधि नै अनुसन्धानका क्रममा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता गिरोह सञ्चालन गरिरहेका मुख्य योजनाकार केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, गोविन्द चौधरी र रामशरण केसीलाई गिरफ्तार गरिसकेको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा इन्द्रजितका छोरा निरज राई र पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादलका’ छोरा प्रतीक थापा र संविधान सभा सदस्य आङ्गटावा शेर्पाविरुद्ध पनि गिरफ्तारी पुर्जी जारी गरिसकेको छ ।
भुटानी शरणार्थीको आवरणमा नेपाली युवालाई नक्कली शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाइदिने खेलमा लागेको गिरोहले ८ सय ७५ जनाभन्दा बढी नेपाली युवाबाट १० देखि ५० लाखका दरले करोडौँ रकम उठाएको भन्दै उजुरी परेपछि प्रहरीको काठमाडौँ अपराध अनुसन्धान कार्यालयले घटनाबारे छानविन गरिरहेको छ ।
प्रहरीले यो प्रकरणको अनुसन्धान गर्दै जाँदा उच्च राजनीतिक र प्रशासनिक अधिकारीहरू पनि मुछिएका छन् ।