जिल्ला कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी भएपनि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ ।
एक जना अहेवको दरबन्दी रहेको काराकारमा झण्डै डेढ वर्ष देखि दरबन्दी अनुसारको स्वास्थ्यकर्मी छैनन् । कारागारमा कार्यरत अहेव उद्घव कुमार कार्कीको ०७८ फागुनमा शिवालय गाउँपालिकामा सरुवा भएपछि नयाँ अहेव नआउँदा अहिले उक्त पदमा कर्मचारी रिक्त रहेको जिल्ला कारागार शाखाका सहायक कर्मचारी लोकराज शाहीले बताउनुभयो ।
कारागारमा स्वास्थ्यकर्मी नहुँदा सामान्य स्वास्थ्य समस्याका लागि पनि कैदीबन्दीलाई जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता रहेको कैदीबन्दी नाईके कुश बहादुर महताराले बताउनुभयो । ‘कारागारमै स्वास्थ्यकर्मी हुदा सामान्य स्वास्थ्य समस्या आएपनि देखाउथ्यौ, निकै सजिलो थियो,’– उहाँले भन्नुभयो,‘अहिले केहि भयो कि जिल्ला अस्पताल लैजानुपर्छ ।’ प्रेसर, सुगर, ढाड तथा घुडाको समस्याका दिर्घरोगी पनि कारागारमा छन् ।
हाल सम्म ६२ जना कैदीबन्दी रहेका छन् सवै जना पुरुष नै रहेको र ६० वर्ष नाघेका कैदीबन्दी २ जना रहेको समेत कारागार कार्यालयमा सहायक कर्मचारी शाहीले बताउनु भयो । ‘स्वास्थ्यकर्मी भइदिए सजिलो हुन्थ्यो, ज्येष्ठ नागरिक पनि हुनुहुन्छ, ‘कहिले कहि त दिनमै पाँच/छ जना सम्म विरामी पर्नुहुन्छ, उहाँहरूलाई पटक/पटक लिएर अस्पताल जानुपर्छ ।’
जेलर चन्द्र बहादुर गिरीले पनि स्वास्थ्यकर्मी नहुँदा समस्या परेको बताउनुहुन्छ । ‘दरबन्दीको स्वास्थ्यकर्मी पठाउनका लागि पटक/पटक अनुरोध गरेका छौँ,’ उहाँले भन्नुभयो,‘अहिले लोकसेवाबाट माग भएको छ, छनौट भएपछि प्रदेशले पठाउने कुरो भएको छ ।’ स्वास्थ्यकर्मी नहुँदा सामान्य स्वास्थ्य समस्याका लागि अस्पताल लैजानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । ‘दरबन्दी अनुसारको स्वास्थ्यकर्मी भएको भए दुख हुन्थेन, उपचार पनि सहज हुन्थ्थ्यो, डेढ वर्ष भयो समस्या थपिएको छ,’ उहाँले बताउनुभयो ।