अशक्त र ज्येष्ठ नागरिकलाई सहज हुने गरी सोलुदूधकुण्ड नगरपालिका–१ ले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको सुरुआत गरेको छ ।

अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरी पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुपर्ने बाध्यता रहेका कारण लाभग्राहीको घरघरमा पुगेर बैंकिङ प्रणालीमार्फत नै भत्ता वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।
सदरमुकाम सल्लेरी बैङ्कसम्म आएर सामाजिक भत्ता बुझ्नपर्ने कठिनाइ भएका कारण घरघरमा पुगेर सामाजिक भत्ता वितरण थालिएको वडाध्यक्ष छोङबा शेर्पाले बताउनु भयो ।
लाभग्राहीलाई भत्ता बुझ्नका लागि सवारीसाधन रिजर्भ गर्दा आउँदा ३ हजार रुपियाँ भन्दा बढी खर्च हुने र कतिपय ठाउँबाट हिँडेर आउँदा एकैदिनमा भत्ता बुझेर फर्कन नसक्ने अवस्था भएकाले जनतालाई स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउन घरघरमा पुगेर सामाजिक भत्ता वितरण गर्न थालिएको वडाध्यक्ष शेर्पाको भनाइ छ ।
वडाले बैङ्कसँगको सहकार्यमा बैङ्कका कर्मचारी, गाउँपालिकाका कर्मचारी, वडा कार्यालयका जनप्रतिनिधि परिचालन गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय, एकल महिलालगायतका सबै लाभग्राहीलाई बैङ्किक प्रणालीमार्फत नै सामाजिक भत्ता उपलब्ध गराउन थालेको हो ।
घण्टौँ लगाएर कष्ठपूर्ण ढङ्गबाट सामाजिक भत्ता बुझ्न बैङ्कसम्म धाउनुपर्ने बाध्यता अन्त्य भए भन्दै सोलुदूधकुण्ड नगरपालिका–१ का ७२ वर्षीय दाडोमा शेर्पाले खुशी व्यक्त गर्नु भयो । वडाभित्रका १ सय २३ जनालाई वैशाख २ गतेयता सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
