राजपा नेपालका कार्यकर्ताहरूले निर्वाचनसम्बन्धी तालिममा सहभागी हुन राजविराज आएका ५० जना कर्मचारीहरूलाई जेठ ३१ गते एक घण्टा नियन्त्रणमा लिएर छाडेका छन् ।

जिल्ला निर्वाचन कार्यालयद्वारा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा आयोजित तालिममा सहभागी हुन आएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएर बलपूर्वक एक घण्टासम्म धर्नास्थलमा राखे । सो क्रममा कर्मचारी र प्रदर्शनकारीहरूबिच विवाद उत्पन्न भएपछि सामान्य झडप समेत भएको थियो ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनविरूद्ध आन्दोलनरत राजपाका महासचिव मनिष सुमनले नियन्त्रणमा लिएर कर्मचारीहरूलाई दुर्व्यवहार गर्नुपरेकोमा दुख व्यक्त गर्दै भने-‘उम्मेदवार हुन खोज्नेहरूको खुट्टा भाँच्छौँ ।’
जिल्ला निर्वाचन कार्यालयले तालिमका लागि ६ सय ६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी तालिम दिन आयोजना गरेको सो कार्यक्रम राजपाको अवरोधपछि झडपको सम्भावना देखेर स्थगित गरिएको जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले जानकारी दिए ।

बिहान साँढे ११ बजेदेखि तालिम हुने थाहा पाएका प्रदर्शनकारीहरू दुई घण्टा अगावै क्याम्पस पुगेर नाराबाजी गर्दै धर्नामा बसेका थिए । धर्नामा बसेका राजपा कार्यकर्ताहरूले तालिममा सहभागी हुन पुगेका कर्मचारीहरूलाई क्याम्पसको प्रवेशद्वारमै नियन्त्रणमा लिएर निर्वाचनमा असहयोग गर्न आग्रह गरे ।