INSEC Online

📅 २०८३ जेष्ठ २१

एक महिनादेखि स्वास्थ्य इकाईमा तालाबन्दी, सेवाग्राहीलाई सास्ती

शैल्यशिखर नगरपालिका–७ देवथली स्वास्थ्य इकाई केन्द्रमा एक महिनादेखि ताला लागाएपछि यस क्षेत्रका सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ ।

शैल्यशिखर नगरपालिकास्थित स्वास्थ्य इकाई कार्यालय भवनका लागि जमिन प्रदान गर्नु भएका जमिनदाताले आफूलाई कार्यालय सहयोगी नराखेको भन्दै एक महिनादेखि स्वास्थ्य इकाईमा ताला लगाउँदा सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।

स्वास्थ्य इकाईमा एक महिनादेखि लगाइएको ताला नखोलिदा यस क्षेत्रका गर्भवती, सुत्केरी, असक्त र ज्येष्ठ नागरिकहरुले थप सास्ती खेप्नु परेको छ ।

स्वास्थ्य इकाईमा तालाबन्दी गरिएपछि साविकको बोहरीगाउँ तथा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का सेवाग्राही मार्कामा परेका छन् । घर नजिकै स्वास्थ्य चौकी भएपनि अहिले स्वास्थ्य उपचारका लागि गाउँबाट टाँढा रहेका स्वास्थ्य चौकी तथा अस्पतालमा जानु पर्ने बाध्यता सृजना भएको छ ।

देवथली स्वास्थ्य इकाईमा कार्यरत मोहनदेव जोशीले आफूलाई हटाएर नयाँ कर्मचारी नियुक्त गरेका कारण चैत ३ गतेदेखि स्वास्थ्य इकाईमा ताला लगाउन बाध्य भएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘म विगत चार वर्षदेखि स्वास्थ्य इकाईमा कार्यरत छु । तर, अहिलेको सरकारले आफ्नो नियुक्तिको म्याद नथपेर हटाएको छ । स्वास्थ्य इकाईका लागि जमिन मैले नै  दिए । आफुलाई राजनीतिक पूर्वाग्रह राखेर हटाइएको छ ।’

उहाँले सेवा निरन्तरताको लागि ०७९ चैत २९ गते वडाकार्यलय र शैल्यशिखर नगरपालिकामा निवेदन दिएको भएपनि माग सम्बोधन नभएकोले माग सुनुवाई नभएसम्म ताला नखोल्ने बताउनु भयो ।

स्वास्थ्य इकाईमा एक जना अहेव, एक जना अनमी र एक जना कार्यालय सहयोगीको स्विकृत कोटा रहेपनि अहिले थप एक जना अहेव, एक जना अनमी, दुई जना कार्यालय सहयोगी र एक जना स्वीपर नियुक्त गरिएको छ ।

जग्गादाताको विवादका कारण स्वास्थ्य इकाई बन्द भएदेखि सेवाग्राहीले सास्ती खेप्नु परेको शैल्यशिखर नगरपालिकाका स्वास्थ्य संयोजक शिवदत्त जोशीले बताउनु भयो ।

ताला खुलाउने विषयमा वडाध्यक्षलाई समन्वय गरी विवाद समाधान गर्न आग्रह गरिएको र स्वास्थ्य इकाई बन्द भएपछि खोपलगायतका अत्यावश्यकीय सेवाबाहिर सञ्चालन गरेर सेवा प्रवाह भइरहेको र स्वास्थ्य इकाईमा ताला लागेपछि यहाँ कार्यरत कर्मचारी स्वास्थ्य चोकी बन्तोलीमा हाजिर लगाउने गरेका स्वास्थ्य संयोजक जोशीको भनाइ छ ।

वडाअध्यक्ष पुष्पराज जोशीले स्वास्थ्य इकाई केन्द्रमा तालाबन्दीको विषयमा जग्गाधनीसँग छलफल भएपनि निष्कर्ष नआएको र समस्या समाधानका लागि कार्यपालिका बैठकमा जानकारी गराएको बताउनु भयो ।

उहाँले अहिले अन्य स्वास्थ्यकर्मी थप गरिएको कारण तत्काल मोहनदेव जोशीको म्याद थप गर्न सकिने अवस्था नभएपछि समस्या समाधान नभएको बताउनु भयो ।

अन्य

भिडियो