INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्यो

आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका छन् ।

जिल्लामा क्रियाशील राजनीतिक दलहरूले चुनावको प्रचारप्रसार गर्ने क्रममा आचारसंहिता विपरीतका गतिविधि गरेका हुन् । नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरमलगायतका दलहरूले सार्वजनिक स्थलमा दलका पर्चा, पोष्टर र झण्डा राखेका छन् ।

यसैगरी, दलहरूले टोपी तथा टिसर्ट समेत लगाएर हिँड्ने गरेका छन् । निर्वाचन आचारसंहिता-२०७२ को ४ (झ) मा ‘निर्वाचनसम्बन्धी प्रचार-प्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने’ भनी उल्लेख छ ।

यसैगरी, जिल्लामा स्थापित सञ्चार माध्यमहरूले समेत आचारसंहिता विपरीत दलहरूको भोट माग्ने गरेका छन् । निर्वाचन आचासंहिता-२०७२ को १४ (छ) मा ‘उम्मेदवार वा राजनीतिक दलको सम्बन्धमा आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी र सशुल्क विज्ञापन भएको जनाउने गरी निर्वाचनसम्बन्धी विज्ञापन प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्ने’ भनी उल्लेख गरिएको छ ।

तर, जिल्लाबाट प्रशारण हुने इगल एफएम, सिंहलिला एफएम, मितेरी एफएम, सुम्हात्लुङ एफएमलगायतका सञ्चार माध्यमले दलहरूले सर्वसाधारणमा अपिल गरेको लामो समयसम्मको सामग्री नै प्रस्तुत गरिरहेका छन् ।

निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनालाई निरूत्साहित गर्न दल तथा सरोकारवाला निकायहरू जिम्मेवार हुनु पर्ने राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पाँचथरका अध्यक्ष प्रेम ओझाले बताए । यदि उल्लङ्घन भए तुरून्त कानुनी दायरामा ल्याउनु पर्नेमा उनले जोड दिए । निर्वाचन आचारसंहिता पालना गर्न/गराउन जिल्लामा क्रियाशील दलहरूलाई पत्राचार गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्य

भिडियो