चितवनमा वैशाख १० गते हुने उपनिर्वाचनको पूर्व सन्ध्यामा तयारीबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्थलगत पर्यवेक्षण तथा अनुगमन गरेको छ ।
निर्वाचनको परिवेशमा इन्सेकले चितवनका मुख्य निर्वाचन अधिकृत, पत्रकार, आचारसंहिता अनुगमन प्रमुख टोली, जिल्ला समन्वय समिति प्रमुख, निर्वाचन कार्यालय प्रमुखसँग छलफल गरेको छ ।
इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त शुशील प्याकुरेलको नेतृत्वमा चितवनमा निर्वाचन पूर्व तयारीको अवस्था, निर्वाचन आचार संहिताको पालनाको अवस्था, शान्ति सुरक्षाको अवस्था तथा दल तथा उम्मेदवारहरूको गतिविधिको बारेमा वैशाख ८ गते पर्यवेक्षण गरिएको छ ।
छलफलमा चितवन क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले दल तथा उम्मेदवारहरूलाई निर्वाचन आचार संहिताको पुर्ण पालना गर्न पटक पटक ध्यानाकर्षण गराइएको बताउनु भयो ।
सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले निर्वाचनसँग सम्बन्धित दुई ओटा उजुरी परेको पनि जानकारी दिनुभयो ।
आचारसंहिता अनुगमन टोली प्रमुख मणीभद्र न्यौपानेले उजुरीमाथि कारबाही गरिएको बताउनु भयो ।
जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न हरप्रकारले लागि परेको जानकारी दिनुभयो । निर्वाचनको क्रममा मतदाता, उम्मेदवार र कर्मचारीहरूको सुरक्षामा कुनै कमी हुन नदिइने प्रमुख कार्कीको भनाइ छ ।
पर्यवेक्षणमा इन्सेक केन्द्रीय कार्यालयका बरिष्ठ अधिकृतद्वय कृष्ण गौतम, सम्झा श्रेष्ठ, इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी र इन्सेक जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीको सहभागिता रहेको थियो ।
