राजविराज नगरपालिका–६ स्थित जिल्ला कारागार सप्तरीमा डेढ महिनामा तीन कैदीको मृत्यु भएको छ ।
जिल्ला कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा कैद सजाय काटिरहेका महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको २०८० वैशाख ७ गते राति मृत्यु भएको छ ।
कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा यादवको मृत्यु भएको कारागार प्रमुख किशोरकुमार रामले बताउनु भयो । बिरामी भई वैशाख ७ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएकोमा रेफर भई यादवलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । शवलाई विराटनगरबाट ल्याएर पोष्टमार्टम गर्नका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको एसपी नरेन्द्र कुमार कार्कीले बताउनु भयो ।
मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका मिथलेशलाई ईलाका प्रहरी कार्यालय हनुमाननगरको टोलीले ०७७ चैत ११ गते घरबाटै गिरफ्तार गरेको थियो । गिरफ्तार भएपछि उनी कारागारमा थिए ।
कारागार प्रशासनका अनुसार यो समेत राजविराज कारागारका तीन जना कैदीको चैत र वैशाखमा मृत्यु भएको छ । यादव अघि वैशाख ५ गते बलान विहुल गाउँपालिका–३ मौवाहाका विहारी साहको छोरा ६९ वर्षीय लक्ष्मण साह तेली भनिने धनिलाल साहको मृत्यु भएको थियो । कर्तव्य ज्यानमा कैद सजाय काटिरहेका साहलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । त्यसअघि चैत २८ गते लागु औषध मुद्दामा सजाय काटिरहेका तिरहुत गाउँपालिका–५ का बन्टु सदाको छोरा २४ वर्षीय सिन्दु भनिने सिन्धु सदाको गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको थियो ।
जिल्ला कारागारको बन्दी क्षमता १५ महिलासहित १ सय ५५ जना रहेकोमा हाल ३ सय ९१ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । कारागारमा ८० वर्षीयसहित ६५ वर्ष नाघेका १० जना जेष्ठ नागरिक छन् । कारागारमा एक जटिल र एक सामान्य मानसिक रोगी, दुई एचआइभी सङ्क्रमित र दुई जना पक्षघातबाट पीडित कैदीबन्दीसमेत छन् । रक्तचाप, चिनी, दम र मुटुलगायतका २० जना दीर्घरोगी छन् ।