धनगढी उपमहानगर क्षेत्रमा सञ्चालित सम्पूर्ण निजी तथा संस्थागत विद्यालयले यस नयाँ शैक्षिक सत्रदेखि लागु हुने गरी पाँच वर्षसम्म पठ्यपुस्तक बदल्न र शूल्क नबढाउन निजी तथा संस्थागत विद्यालायहरुलाई धनगढी उपमहानगरपालिकाले निर्देशन दिएको छ ।
अभिभावकलाई आर्थिक भार पर्ने गरी निजी तथा संस्थागत विद्यालयले हरेक वर्ष पाठ्यपुस्तक बदल्ने र शूल्क बढाउने गतिविधिले आफूहरु आर्थिक भारमा परेको गुनासो अभिभावकहरुले गरेपछि धनगढी उपमहानगरपालिका नगर शिक्षा समितिको बैठकले सो निर्णय गरी हरेक विद्यालयलाई निर्देशन दिएको हो ।
अभिभावक पार्वती चौधरीले हरेक वर्ष महँगोमा किताब किन्नु पर्ने झन्झट हटेको र दुई छोराछोरी मध्ये एक जनाको लागि पाठ्यपुस्तक किने अर्काको लागि पुनःप्रयोग हुने भएपछि आर्थिक भार कम हुनगई अभिभावकहरुलाई सहज हुने बताउनु भयो ।
अभिभावक लोकेन्द्र देउवाले सरकारी स्कुलको किताबको पानाको गुणस्तर बढी भएको कारण महँगो हुने गरेकाले राज्यले कम गुणस्तरको पाना भएको र एउटै प्रकाशनको पुस्तक बिक्रीवितरण गर्ने व्थवस्था गर्नु पर्ने बताउनु भयो ।
अभिभावक चन्दा लोठ्यालले सरकारी स्कुल भन्दा निजी स्कुलको किताब महँगोमा किनेर एक वर्षमा फाल्नु पर्ने अवस्थामा नगर शिक्षा समितिले अभिभावकको समस्यालाई बुझेर निर्णय गरेको बताउनु भयो ।
अभिभावक गौमती देउवाले कम आय स्रोत भएका अभिभावकको लागि सकरात्मक निर्णय भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘हरेक वर्ष किताब बदल्नु भन्दा पुनःप्रयोग गर्ने प्रणाली लागु गर्नु पर्छ । यसले सबै सरोकारवालाहरुलाई सहज हुन्छ ।’
ऐश्वर्य विद्यानिकेतनका प्राचार्य प्रेमनिधि ओझाले नगर शिक्षा समितिले अभिभावकको गुनासोको आधारमा पाँच वर्षसम्म पाठ्यपुस्तक बदल्न नपाउने भनी गरेको निर्णय अनुसार निजी तथा संस्थागत विद्यालयललाई दिएको आदेश केही हदसम्म सकरात्मक रहे पनि बदलिदो परिवेशमा विद्यार्थीलाई नयाँ ज्ञान दिन नसकिने बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘पाँच वर्षसम्म बिभिन्न घटना परिघटनामा परिवर्तन भइसकेको हुन्छ । तर, पाठ्पुस्तक परिवर्तन नगर्दा पुरानै तथ्याङ्क अनुसार पढाउनु पर्ने बाध्यता हुन्छ । यसले विद्यार्थीको शिक्षाको गुणस्तरमा असर गर्न सक्दछ ।’
कैलाली विद्यानिकेतनका प्रचार्य तथा प्याबशन कैलालीका अध्यक्ष टोपेन्द्र शाहले पुस्तक छपाईको लागि कागज र पुस्तक प्रकाशकहरुबीचको प्रतिस्पर्धालाई राज्यले नियमन गर्नु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘पठ्यपुस्तकलाई पुनःप्रयोगको लागि राज्यले किताब छपाईको कागजको मुल्य निर्धारण तथा कम मुल्य पर्ने कागजको अनुमति दिनु पर्ने हो । बजारमा प्रकाशकहरुबीच प्रतिस्पर्धा चलिरहेको अवस्थामा प्रकाशकहरुलाई नियमन गरीे एकरुपता ल्याउन पहल गर्नु पर्छ । यस कार्यले अभिभावकको आर्थिक भार पनि घटाउने र विद्यार्थीहरुले पनि समयअनुकुलका सूचना तथा ज्ञान पाउनबाट वञ्चित हुनु पर्दैन ।’
थ्रीस्टार सेकेण्डरी स्कुलकी संस्थापक प्राचार्य मिरा आचार्यले नगर शिक्षा समितिले गरेको निर्णयमा पुनर्विचार गर्नु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘कक्षा नर्सरीदेखि तीन कक्षासम्म किताब भित्र अभ्यास गराईरहनु पर्ने भएकाले पुनःप्रयोग गर्न नमिल्ने भएपछि अर्को किताब सेट किन्नै पर्ने अवस्था आउछ । पुरानो किताबको पुनःप्रयोगले पुरानो किताब लिएर आउने विद्यार्थीको मनोवैज्ञानिकमा नकारात्मक असर देखिन सक्ने सम्भावना हुन्छ । राज्यले पाठ्यपुस्तक परिवर्तन भन्दा प्रकाशकहरुबीचमा एकरुपता ल्याउनु पर्छ ।’
धनगढी उपमहानगरपालिका नगर शिक्षा समितिका संयोजक नरेन्द्रबहादुर खातीले निजी तथा संस्थागत विद्यालयले मनोमानी तरिकाले हरेक वर्ष पाठ्यपुस्तक बदल्ने र शूल्क बृद्धि गर्ने कारणले आर्थिक रुपमा विपन्न अभिभावक समस्यामा परेको गुनासो आएपछि नगर शिक्षा समितिले २०७९ चैत १४ गतेको निर्णय अनुसार निर्देशन दिइएको बताउनु भयो ।
उहाँले एउटै परिवारका दई / तीन जना बालबालिका निजी विद्यालयमा पढीरहेको र हरेक वर्ष पाठ्यपुस्तक परिवर्तनले महँगोमा किताब किन्नु पर्ने बाध्यताको अन्त्य गर्नका लागि केही हदसम्म अभिभावकको अर्थिक भार कम गर्न सहयोग पुग्ने बताउनु भयो ।
धनगढी उपमहानगरपालिका भित्र १ सय १० निजी तथा संस्थागत विद्यालयहरु सञ्चालनमा रहेका छन् ।