मिर्चैया नगरपालिका भवनमा वैशाख ७ गते सडक विस्तारका लागि घर तथा पसलहरू भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरूले ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।
मिर्चैया बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरू नगरपालिकाले सडक विस्तारको नाममा घर भत्काइदिएपछि आन्दोलनमा उत्रिएका थिए ।
आन्दोलनकारीहरूले मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवसँग जवाफ माग गर्न नगरपालिका कार्यालयमा जाँदा मेयर बाहिर नआएको विरोधमा ढुङ्गा मुढा गरेका हुन् ।
ढुङ्गा मुढाबाट नगरपालिका भवनको झ्याल तथा ढोकाका सीसाहरू फुट्नुका साथै नगरपालिकाको गाडी स १ झ ५२१ नम्बरमा क्षती पुगेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरीकृष्ण केसीले बताउनु भयो ।
आक्रोशित आन्देलनकारीहरूले मिर्चैया नगरपालिकाको गेट तोडफोड गर्न थालेपछि प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न ११ शेल अश्रुग्यास, हवाइ फायर, सटगन तथा रबरको गोली गरी ४२ राउण्ड प्रहार भएको डिएसपी केसीले बताउनु भयो ।
आन्दोलनकारीहरूको ढुङ्गा प्रहारबाट प्रहरी सहायक हबल्दार धिरेन्द्रप्रसाद यादव घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र स्थानीय अस्पतालमा उपचार भएको डिएसपी केसीले बताउनु भयो ।
वर्षाैदेखि आफूहरू बस्दै आएको घर तोडफोड, मनोमानी तरिकाले मेयरले नगरपालिका चलाएको, आफ्नो आसेपासेको नाममा पोखरीको जग्गा कित्ताकाट गर्न लगाएको आरोपहरू लगाउदै स्थानीयहरू एक हफ्तादेखि निरन्तर प्रदर्शन गर्दै आएका छन् ।