सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी भएको एक मात्र धनगढी उपमहानगरपालिका भित्र सञ्चाति ६३ ओटा सामुदायिक विद्यालय मध्ये १७ ओटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का सबै विद्यार्थीहरु अनुउत्तीर्ण भएका छन् ।
धनगढी उपमहानगरपालिकाको मातहतमा सञ्चालित नीजि तथा सामुदायिक गरी १ सय ६ विद्यालयका कक्षा ८ को नतिजा वैशाख ३ गते सार्वजनिक हुँदा १७ ओटा सामुदायी र एक ओटा नीजि विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरु ननग्रेड अथवा कक्षा ९ का लागि योग्यता प्राप्त नगरेको नतिजा प्रकाशन भएको हो ।
कक्षा ८ को परीक्षको नतीजा सार्वजनिक गरिए अनुसार नीजि र सामुदायिक विद्यालय गरी ३३ प्रतिशत विद्यार्थी मात्र कक्षा नौ मा भर्ना हुन योग्यता प्राप्त गरेका छन् भने ७७ प्रतिशत विद्यार्थी कक्षा ९ मा भर्ना हुन अयोग्य भएका छन् ।
धनगढी उपमहानगरपालिका अन्तर्गत सञ्चालित धनगढी उपमहानगरपालिका—१ स्थित सरस्वती आधारभुत विद्यालय, वडा नम्बर ३ स्थित मोर्डन बोर्डिङ स्कुल, वडा नम्बर ६ स्थित भैरवबाबा आधारभूत विद्यालय, वडा नम्बर ७ स्थित शिव माध्यमिक विद्यालय, वडा नम्बर ९ स्थित सरस्वती आधारभूत विद्यालय, वडा नम्बर १० स्थित जनकल्याण माध्यमिक विद्यालय, वडा नम्बर १२ स्थित दुर्गा आधारभूत विद्यालय र नवदुर्गा आधारभूत विद्यालय, वडा नम्बर १३ स्थित नवज्योती आधारभूत विद्यालय र जनता राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर १४ स्थित शिवशंकर आधारभूत विद्यालय र सिद्यार्थ आधारभूत विद्यालय, वडा नम्बर १६ स्थित सज्जन आधारभूत विद्यालय र दिपेन्द्र चारपाते माध्यमिक विद्यालय, वडा नम्बर १७ स्थित भानु माध्यामिक विद्यालय, वडा नम्बर १८ स्थित खप्तडी आधारभूत विद्यालय र इन्द्रोदय आधारभूत विद्यालय र वडा नम्बर १९ स्थित फुलवारी आधारभूत विद्यालय कुनै पनि विद्यार्थी कक्षा ९ का लागि योग्यता प्राप्त नगरेका विद्यालय हुन् ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख तथा शिक्षा अनुगमन समितिका संयोजक कन्दकला रानाले शिक्षकहरु शिक्षण पेशा भन्दा राजनीतिमा व्यस्त हुनाले नीजि विद्यालय भन्दा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर कमजोर भएको कारण १७ ओटा विद्यालयको शैक्षिक उपलब्धी शून्य हुन गएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘विद्यालय शान्ति क्षेत्र भनिएता पनि शिक्षकहरु खुुलेर राजनीतिक गरिरहेका हुन्छन् । अनुगमन समितिले पटक पटक ताकेता गरे पनि स्थायी शिक्षक तथा प्राध्यापकहरुले पालना नगरेको पाइयो । उपमहानगरपालिकाले परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनमा कडाई गरेको कारण यस्तो नतिजा आएको हो ।’
धनगढी उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख नरेन्द्रबहादुर खातीले शिक्षकले शिक्षा ऐनलाई टेकेर पाठ्यक्रम अनुसार शिक्षण गरे नगरेको अनुगमन गर्ने जिम्मेवारी स्रोत व्यक्तिहरुको भएको र उहाँहरुले मापदण्ड अनुरुप अनुगमन गरिनु पर्ने बताउनु भयो ।
उहाँले कक्षा ८ को नतिजामा निल भएका विद्यालयका शिक्षकहरुको अनुरोधमा शिक्षकहरुलाई चेतावनी दिने र शिक्षण पेशालाई सुधार तथा विद्यार्थीको सिकाईलाई मध्यनजर गर्दै विद्यालय छोड्ने विद्यार्थीको सङ्ख्यामा न्युनीकरण गर्नका लागि वैशाख २९ र ३० गते ग्रेडबृद्धि र नतिजामा पुर्नविचार गर्ने सहमती भएको बताउनु भयो ।
धनगढी उपमहानगरपालिका–९ बंगराकटानस्थित सरस्वती आधारभूत विद्यालयका प्राचार्य पशुपति ठाकुरले विद्यालयमा समयमा पाठ्यपुस्तक नपुग्नु, विषयगत शिक्षक र आवश्यक दरवन्दी नभएको कारण र अघिल्लो वर्ष कोभिडको कारण आन्तरिक मुल्याङ्कन गरेर नतिजा प्रकाशन गरिएको र यस वर्ष उपमहानगरले परीक्षामा कडाई गरिएकाले नतिजा शून्यमा आएको बताउनु भयो ।
धनगढी उपमहानगरपालिका–१ शान्तिटोलस्थित सरस्वती आधारभूत विद्यालयका प्राचार्य पदमराज जोशीले कोभिडको कारण कक्षा पाँचखेखि परीक्षा केन्द्रमा भौतिक उपस्थिति बिना निरन्तर आन्तरिक मुल्याङ्कनबाट पास हुदै आएका विद्यार्थी भएका कारण र यस वर्ष उपमहानगरको भौतिक उपस्थितिमा परीक्षा लिइएको तथा प्रश्न–पत्र नगरपालिका आफैले निर्माण गरिएको कारण शून्य नतिजा आएको बताउनु भयो ।
उहाँले विद्यालयमा विषयगत शिक्षक नहुँदा नेपाली विषय पढाउने शिक्षकले गणित र विज्ञान विषय पढाउनु पर्ने बाध्यता रहिआएको कारण शिक्षाको गुणस्तरीयता खस्कीएको बताउनु भयो ।
धनगढी उपमहानगरपालिको मातहतमा सञ्चालन गरेको १ सय ६ विद्यालयका कक्षा ८ को नतिजा वैशाख ३ गते सार्वजनिक हुँदा १७ ओटा विद्यालयका ४ हजार ५ सय ३३ विद्यार्थी मध्ये गणितमा २ हजार ३ सय ४१ जना, अंग्रेजीमा १ हजार ६ सय चार जना, नेपालीमा १ हजार ६ सय दुई जना, सामाजिकमा १ हजार ७ सय ३२ जना, स्वास्थ्य तथा शारीरिक शिक्षामा १ हजार १ सय ३२ जना, नैतिक शिक्षामा ४ सय ६८ जना, कम्प्युटरमा २ हजार १ सय ४ जना र पेशा व्यवसाय विषयमा १ हजार ६ सय विद्यार्थीले ननग्रेड प्राप्त गरेका छन् ।