गएको स्थानीय तहमा गरुडा नगरपालिकामा लोकतान्त्रिक समाजपादी पार्टी (लेसपा) का तर्फबाट प्रत्यासी नगर प्रमुखका उम्मेद्वार दिपक यादव नेतृत्वको समूहले नगरपालिकामा ढुङ्गामुढा गरेपछि प्रहरीले रोक्न खोज्दा चैत २९ गते झडप भएको छ ।


गरुडा नगरपालिका कार्यालयले चैत ३० गते गर्न लागेको सार्वजनिक सुनुवाइ रोक्न नमानेपछि यादव नेतृत्वको समूहले त्यसको विरोधमा नगरपालिका कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो ।
पछिल्लो समय विभिन्न समयमा आन्दोलन गर्दै आएका स्थानीय दिपक यादवले चैत २९ गते गाउँलेहरूलाई उचालेर नगरपालिकाको कार्यालय तथा गाडीमा तोडफोड गर्न खोज्दा बल प्रयोग गर्नु परेको प्रहरीले जनाएको छ ।
तोडफोड गर्नबाट दिपक यादवको समूहलाई प्रहरीले रोकेपछि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेर टिपर, मोटरसाइकल, कार्यालयको झ्यालमा क्षति पु¥याउन सुरु गरेको जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर बुढामगरले बताउनु भयो ।
प्रर्दशनकारीको ढुङ्गामुढाबाट इन्स्पेक्टर बिरेन्द्र पासवानसहित चार जना प्रहरी घाइते भएको एसपी मगरले जानकारी दिनु भयो । प्रदर्शन उग्र बन्दै गएपछि भिडलाई नियन्त्रणमा लिन चार राउण्ड टियर ग्याँस प्रहार गरेपनि भिडलाई नियन्त्रणमा लिन नसकेको र ११ राउण्ड गोली हावाइफायर गरेको एसपी मगरको भनाई थियो ।
झडपका क्रममा प्रहरीको गोली लागेर गरुडा नगरपालिका–५ का २२ वर्षीय गजेन्द्र यादव घाइते भएका छन् । घाइते यादवलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएको छ । नगरपालिका कार्यालयमा ढुङ्गामुढा तथा विरोध प्रदर्शन गराउने दिपक यादव सहित चार जनालाई प्रहरीले चैत २९ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।