बसको ठक्करबाट चैत २४ गते मृत्यु भएका साफेबगर नगरपालिका–३ का २६ वर्षीय हेमराज कुँवरका आफन्तले चार दिनदेखि साँफेबगरमा आन्दोलन गरेर सवारी साधन बन्द गर्दा अछाम र बाजुरा जिल्लाका यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
मृतकका आफन्त तथा परिवारजनहरुले गाडी चालकलाई हदैसम्मको कार्वाही, मृतकका छोराछोरी र परिवारको लालनपालनको जिम्मा लगायतका मागराखि लामो तथा छोटो दुरीका सवारी साधन चैत २५ गतेबाट पूर्ण रुपमा बन्द गरिदा यात्रुहरुलाई सास्ती भएको हो ।
धनगढी, नेपालगञ्ज, महेन्द्रनगरलगायतका स्थानबाट जिल्ला आउने यात्रुहरु डोटी र अछामको सीमाना चौखुट्टेमा अलपत्र परेका छन् । आफू दुई दिन अगाडी धनगढीबाट अछामका लागि हिडेको भएपनि यातायात बन्द गरिएका कारण चौखुट्टेमा अलपत्र परेको स्थानीय कर्णबहादुर महतले गुनासो गर्नु भयो ।
बन्दका कारण तराईबाट आउने खाद्यन्न, तरकारी र फलफूल लगायतका दैनिक उपभोग्य सामग्रीहरुको बजारमा अभाव हुन थालेको छ । यातायात नचलेपछि तराईबाट आएका बालबालिका, ज्येष्ठ नागरिकहरु चौखुट्टेमै अलपत्र अवस्थामा रहनु परेको चौरपाटी गाउँपालिका–६ दुनीका वडाध्यक्ष डबल खड्काले बताउनु भयो ।
आन्दोलन सुरु भएको चैत २५ गतेदेखि नै साँफेबगर बजार पनि बन्द अवस्थामा छ । आन्दोलन पक्षधरले ठक्कर दिने चालकलाई हदैसम्मको कार्वाही, पीडितका दुई छोरी र पत्नीलाई लालनपालन र मृतकको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि छानविनको माग गरेका छन् ।
बस व्यवसायी र पीडित पक्षबीचमा क्षतिपुर्तिमा कुरा नमिल्दा नागरिकहरुले सास्ती भोगिरहेका छन् । आन्दोलन पक्षधरले साँफे र जयगढस्थित बस काउन्टर तोडफोड गरेका छन् भने सडकमा टायर बालेर दैनिक नाराबाजी गरिरहेका छन् ।
सवारी साधन नियमित गराउनका लागि पीडित पक्ष, बस व्यवसायी र अन्य निकायसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय, अछामका प्रशासकीय अधिकृत मिनराज आचार्यले बताउनु भयो ।
उहाँले धनगढीबाट बस व्यवसायीहरु पनि जिल्लामा आइसक्नु भएकोले दुबै पक्षबीच छलफल गरी समस्या समाधानका गरिने बताउनु भयो ।
साँफेबगर नगरपालिका–७ रिडिकोटको वडा कार्यालय नजिकै चैत १९ गते सु.प.प्र ०१–००१ ख ३१५४ नम्बरको बसले ठक्कर दिदा सोही नगरपालिका–३ का २६ वर्षीय हेमराज कुँवरको उपचारका क्रममा चैत २४ गते काठमाडौंमा मृत्यु भएको थियो ।
कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका–८ घर भएका ३४ वर्षीय बस चालक कृष्ण ढुङ्गेललाई घटना भएकै दिन चैत १९ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाश विष्टले बताउनु भयो ।