आसन्न स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्नका लागि मोरङका राजनीतिक दलहरूलाई अधिकारकर्मीहरूले ध्यानाकर्षण गराएका छन् ।

विभिन्न पार्टीका कार्यालयमै गएर जेठ २९ गते अधिकारकर्मीहरूले निर्वाचनका सन्दर्भमा र निर्वाचनका कारण बालबालिकामा असर पर्ने खालका कार्यक्रम नगर्न ध्यानाकर्षण गराएका हुन् । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) लगायत अधिकारका क्षेत्रमा काम गर्ने एक दर्जन भन्दा बढी सङ्घसंस्थाको अगुवाइमा नेकपा (एमाले), सङ्घीय समाजवादी फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
विभिन्न ठाउँमा पर्चा पम्प्लेट टाँस्न, झण्डा राख्न, नारा जुलुसमा र घरदैलोमा पनि बालबालिकाको प्रयोग गरेको पाइएकोले त्यसो नगर्न आग्रह गर्दै ध्यानाकर्षण गराइएको इन्सेक क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले बताए ।
उनले नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, राप्रपालगायत अन्य दललाई पनि ध्यानाकर्षण गराइने बताए । ध्यानाकर्षण पत्र बुझ्दै नेकपा (एमाले) मोरङका अध्यक्ष विनोद ढकालले बालाबालिकालाई चुनावमा प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्दै संवेदनशील भएर बालबालिकामैत्री चुनावी प्रतिबद्धता पत्र ल्याउने बताए ।
सङ्घीय समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवले बालबालिकाप्रति पार्टी संवेदनशील भएकोले पनि चुनावी अभियानमा बालबालिकाको प्रयोग नगर्ने बताए । त्यसैगरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला उपाध्यक्ष सविर अहमदले मोरङमा बालमैत्री अभियान सफल बनाउन पार्टी सचेत रहेकोले चुनावमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका थिए ।