INSEC Online

📅 २०८३ जेष्ठ २१

विश्व बालश्रम दिवसको अवसरमा प्रभातफेरि

१६ औँ विश्व बालश्रम दिवसको अवसरमा जेठ २९ गते काठमाडौँमा प्रभातफेरिको आयोजना गरिएको राससले जनाएको छ ।

श्रम विभागको नेतृत्वमा आयोजित सो प्रभातफेरि तीनकुनेबाट सुरू भएर नयाँ बानेश्वार, थापागाउँ हुँदै माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो ।

‘द्वन्द्व र विपद्मा बालबालिकालाई बालश्रमबाट मुक्त गरौँ’ भन्ने मूल नाराका साथ विश्वभरि मनाइएको विश्व बालश्रम दिवसको अवसरमा आयोजित र्‍यालीमा सहभागीले ‘बालश्रम अन्त्य गरौँ’, ‘बालबालिकालाई माया गरौँ’ र ‘बालबालिका भविष्यका कर्णधार हुन्’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

त्यसैगरी बालश्रमविरुद्धको विश्व दिवसका अवसरमा सुनसरीको इटहरीमा केही विद्यालयका बालबालिकाको सहभागितामा प्रभातफेरि कार्यक्रम गरिएको जनाइएको छ । प्रभातफेरिमा सहभागी बालबालिकाले इटहरी उपमहानगरपालिकाका मुख्य बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

प्रभातफेरिमा सहभागी भएका बालबालिकाले ‘बालश्रम विरुद्धका नारा बालश्रम कानुनी अपराध हो, त्यसको अन्त्य गरौँ, बालश्रम प्रयोग नगरौँ र बालश्रमको सबैले मिलेर अन्त्य गरौँ’ लगायतका नारासमेत लगाएका थिए ।

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजका बालबालिकाहरूले जेठ २९ गते प्रभातफेरि र नाटक प्रदर्शन गरेर १६ औँ बालश्रम विरुद्ध विश्व दिवस मनाएका छन् ।

Photo20170612Saptari

द्वन्द्व र विपदमा बालबालिकालाई श्रमबाट संरक्षण गरौं भन्ने नाराका साथ निकालिएको प्रभातफेरिले बालश्रम विरुद्ध नारा लगाउँदै नगर परिक्रमा गरिएपश्चात सडक नाटक प्रदर्शन गरी दिवस मनाइएको हो ।

निकृष्ट प्रकारको बालश्रम विरुद्ध अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि र श्रममा संलग्न हुने न्यूनतम उमेरसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको स्मरणमा १२ जुनलाई बालश्रम विरुद्धको विश्व दिवसका रूपमा संसारभरी मनाइने गरिन्छ ।

श्रमशक्ति २०६६ अनुसार नेपालमा ९ लाख बालिका र ७ लाख बालक गरी १६ लाख बालबालिका श्रमिकको रूपमा काम गर्न बाध्य छन् । तीमध्ये ६ लाख २१ हजार बालबालिका जोखिमयुक्त श्रममा रहेका छन् ।

नेपालको संविधानको धारा ३९ को उपधारा १० मा कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउने कार्य कानुन बमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनेर प्रावधान राखेको छ ।

अन्य

भिडियो