राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको सङ्घीय गठबन्धनले आमहड्ताल सहितको तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
सङ्घीय गठबन्धनले जेठ २८ गते काठमाडौँमा पत्रकार सम्मेलनमार्फत जारी गरेको विज्ञप्तिमा स्थानीय तह दोस्रो चरणको निर्वाचन बिथोल्ने गरी अनिश्चितकालीन आमहड्तालसहित मसाल जुलुस, लाठी जुलुस लगायतका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो ।
घोषित कार्यक्रम अनुसार जेठ २९ गते प्रत्येक सदरमुकामलगायतका स्थानहरूमा मसाल जुलुस प्रदर्शन गर्ने, जेठ ३० र ३१ गते प्रत्येक गाउँपालिका, नगरपालिका/महानगरपालिकामा केन्द्रीत रही निर्वाचनविरुद्ध माइकिङ् गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै असार १ गते चोक, चौराहा, हाट/बजारमा विरोध प्रदर्शन, खबरदारी सभा तथा शहीदहरूको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली कार्यक्रम गर्ने रहेको छ ।
त्यस्तै असार २ गते गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका र स्थानीय तहको निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने तथा असार ३ र ४ गते वीर शहीदहरूको सम्झानामा सबै निर्वाचन केन्द्रहरूमा शहीदको तस्वीर प्रदर्शन गर्ने रहेको छ ।
त्यस्तै असार ५ गते सबै जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी सबै कार्यक्रम र गतिविधिहरू अबरुद्ध गर्नेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने उल्लेख छ । सराकारले असार १४ गते तोकेको स्थानीय तहको निर्वाचनलाई नै लक्षित गरी असार १० गतेदेखि अनिश्चितकालीन आम हड्ताललगायतका कार्यक्रम गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।