INSEC Online

📅 २०८३ जेष्ठ २१

खोलाको धार परिवर्तन गर्ने समूहले पत्रकारहरूमाथि दुर्व्यवहार

हनुमन्ते खोलाको धार परिवर्तन गराएपछि उत्पन्न परिस्थितिको समाचार सम्प्रेषण गर्न पुगेका पत्रकारहरूमाथि दुर्व्यवहार भएको छ ।

समाचार सङ्कलनका लागि पुगेको राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ, राससका पत्रकार रमेश गिरी, कान्तिपुर दैनिकका पत्रकार लीला श्रेष्ठलाई स्थानीयले धम्की दिनुका साथै दुर्व्यवहार गरेका थिए भने मिडिया एमपिका पत्रकार सुदिपकुमार पौडेलमाथि हातपात गरेका थिए ।

भक्तपुरको हनुमन्ते खोलाको धारलाई रातारात परिवर्तन गराइएपछि मध्यपुर थिमी र बालकोटका स्थानीयबिच झडपसमेत भएको थियो ।

मध्यपुर थिमी नगरपालिका-३ र सूर्यविनायक नगरपालिका-३ बालकोटको सिमानामा रहेको हनुमन्ते खोलाको धार जेठ २६ गते मध्यराति स्काभेटर र डोजर लगाएर परिवर्तन गराइएको स्थानीयबासीहरूको आरोप छ ।

खोलाको धार परिवर्तन गराउने पक्षले पत्रकारका क्यामेरा तथा मोबाइल खोसेर फुटाउने तथा फुटेज डिलिट गर्ने प्रयास गर्दै समाचार नलेख्न धम्की दिएका थिए ।

पत्रकारमाथि भएको हातपात र दुर्व्यवहारको नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र बिष्टले खेद प्रकद गर्दै घटनाको भत्सर्ना गरेका छन् । उनले समाचार सङ्कलनमा गएका पत्रकारमाथि भएको दुर्व्यवहार स्वतन्त्र पत्रकारिताको घाँटी निमोठ्ने प्रयास भएको भन्दै घटनामा संलग्न दोषीलाई गिरफ्तार गरी कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरेका छन् ।

त्यस्तै फोटो पत्रकार समूह भक्तपुर, प्रेस चौतारी भक्तपुर र क्रियाशील पत्रकार मञ्च भक्तपुरले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

अन्य

भिडियो