INSEC Online

📅 २०८३ जेष्ठ २१

राजनीतिक दलद्वारा बालबालिकालाई निर्वाचनमा सहभागी नगराउने प्रतिबद्धता

सप्तरीका जिल्लास्तरीय नेता तथा सरोकारवालाहरूले बालबालिकालाई निर्वाचनको कुनै पनि काममा सहभागी नगराउने सात बुँदे प्रतिबद्धता पत्रमा जेठ २६ गते हस्ताक्षर गरेका छन् ।

बाल अधिकारको संरक्षण र प्रवर्धनका लागि जिल्ला बाल कल्याण समितिद्वारा आयोजित अन्तरसम्वाद तथा प्रतिबद्धता कार्यक्रममा नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम नेपाल, नेमकिपा, नेकपा संयुक्त, बहुजन शक्ति पार्टी, राप्रपा, थरुहट तराई पार्टी नेपालले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यसैगरी प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, एसपी अनुरागकुमार द्विवेदी, नेपाल शिक्षक महासङ्घकी निलम मिश्र, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, जिल्ला बाल कल्याण समितिका पदाधिकारीहरू, पत्रकारहरू तथा मानव अधिकार र बाल अधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरूले समेत प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

कुनै पनि राजनीतिक कार्यक्रम, चुनावी सभा, गोष्ठी, सम्मेलन तथा जुलुसहरूमा बालबालिकालाई सहभागी नगराउने, पठनपाठनमा प्रत्यक्ष असर पार्ने चुनावी कार्यक्रमहरू विद्यालय हाताभित्र सञ्चालन नगर्ने, चुनावी प्रचारका क्रममा बालबालिकामाथि हुन सक्ने हिंसा एवम् दुर्व्यवहार हुन नदिने प्रतिबद्धता जनाइएको छ ।

दलका नेताहरूले विद्यालय हाताभित्र आमसभा, माइकिङ्, प्रचार सामग्री नटाँस्ने, भित्ते लेखन नगर्ने तथा हुलदङ्गा जस्ता कार्य नगर्नेसहितको सात बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

जिल्ला बाल कल्याण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले निर्वाचनको कुनै पनि काममा बालबालिका संलग्न देखिएमा सम्बन्धित निकायमा जानकारी गराए तत्काल कारबाही गर्ने प्रतिबद्धता जनाए ।

अन्य

भिडियो