करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुनै लाग्दा जिल्लाको ग्रामीण क्षेत्रका नागरिक खुसी भए पनि आफूले हालेको मत बदर हुने हो कि भन्ने चिन्तामा रहेका छन् ।
‘यो चुनावमा मतपत्र ठूलो छ भन्ने सुनिएको छ । त्यसैले मत बदर भएर जाने हो कि भन्ने चिन्ता छ ।’-डिलाशैनी-१ का जानकी रानाले भनिन् । मतदान गर्ने विषयमा आजसम्म सिकाउन कोही नआएको उनले गुनासो गरिन् ।
‘मतदान गर्ने तरिका सिकाउन कोही आएका छैनन् । कसरी मतदान गर्ने ? भन्ने थाहा नहुँदा अन्योल भएको छ ।’-उनले दाहोर्याईन् ।
राजनीतिक दलका नेताहरूले भोट मात्रै माग्न आउने तर मतदान गर्ने तरिका बारेमा सिकाउने नगरेको स्थानीय उद्धवप्रसाद भट्टले आरोप लगाए । उनले भने-‘ग्रामीण क्षेत्रका मतदातालाई मतदानका विषयमा जानकारी नगराए धेरै मत बदर हुने सम्भावना छ ।’
दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मत हाल्न आतुर भएपनि मतदान कसरी गर्ने ? भन्ने विषयमा आफू अनभिज्ञ रहेको स्थानीय लक्ष्मी बोहराले गुनासो गरिन् ।
जिल्ला निर्वाचन कार्यालय बैतडीले जेठ ५ गतेदेखि गाउँगाउँमा मतदाता शिक्षा स्वयम्सेवक खटाइसकेको जनाएको छ ।
१० वटा स्थानीय तह रहेको बैतडीमा ६५ हजार ९ सय ३२ जना महिला, ६२ हजार ८ सय जना पुरुष र एक जना तेश्रो लिङ्गी गरी जम्मा १ लाख २८ हजार ७ सय ८३ जना मतदाता छन् ।
मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न १ सय ८७ जना मतदाता शिक्षा स्वयम्सेवकलाई परिचालन गरिएको भने पनि प्रभाव कमै रहेको स्थानीयको आरोप छ ।