नेपालको संविधानको धारा ३१ मा प्रत्येक नागरीकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा सहज, अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक उल्लेख गरिएको भए पनि जिल्लाको आदर्श गाउँपालिका—७ दहकालिकास्थानका बालबालिकाहरुले माध्यमिक शिक्षा अध्ययन गर्न चार घण्टा पैदल हिडेर विद्यालय पुग्नु पर्ने बाध्यता रहेको छ ।
माध्यमिक तहको शिक्षा अध्ययन गर्नका लागि चार घण्टाको पैदल यात्रा गर्नु पर्ने बाध्यताले आधारभूत तहको शिक्षापश्चात आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुले विद्यालय पढ्न छोडर भारत पलायन हुनु पर्ने बाध्यता रहेको छ ।
११ र १२ कक्षामा अध्ययन गर्नका लागि आदर्श गाउपालिका—७ मा माध्यमिक विद्यालय नभएका कारण बिहान करिब ७ बजे गाउँबाट चार घण्टा पैदल हिडेर मौवा नगरदहमा रहेको शारदा माध्यमिक विद्यालय पुग्नु पर्ने बाध्यता रहेको दहकालिकास्थानका स्थानीय विद्यार्थी रमेश बिष्टले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘बिहान सात बजे उठेर विद्यालय जान्छौँ । साझ सात बजे मात्रै घर पुग्छौँ । निकै समस्या झेल्नु परेको छ । टाँढा भएकै कारण धेरै विद्यार्थीहरुले विद्यालय नै जान नसकेको अवस्था छ ।’
११ र १२ कक्षामा अध्ययनरत बालबालिकाहरुका लागि वडामा विद्यालय नभएका कारण कतिपयले पढाइनै छोडनु पर्ने बाध्यता रहेको दहका स्थानीयय रणबहादुर बिष्टले बताउनु भयो ।
आर्थिक अवस्था कमजोर भएका परिवारमा एसइईसम्म गाउँमा अध्ययन गरेर एसइईपछि छोरा मान्छे रोजगारीका लागि भारत तिर जाने र छोरी मान्छेको विवाह हुने गरेको समेत उहाँले बताउनु भयो ।
आदर्श गाउँपालिका—७ दहकालिकास्थान वडामा रहेको एक मात्र दह माध्यमिक विद्यालयमा करीब ६ सय विद्यार्र्थीहरु अध्ययनरत रहे पनि ११ र १२ कक्षामा अध्ययन गर्न चार घण्टा पैदल हिडेर आर्दश गाउँपालिकाको केन्द्र मौवा नगरदह पुग्नु पर्ने बाध्यता रहेको दहकालिकास्थान माविका शिक्षक बिश्वनाथ कापडीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘वडा कार्यालय भित्र उच्चमाध्यमिक विद्यालय छैन् । आर्थिक अवस्था कमजोर भएका अभिभावकहरुले जिल्ला सदरमुकाममा रहेको विद्यालयमा पढाउन सक्दैनन् । यसले गर्दा १० कक्षा उत्तीर्ण गरेका सबै बालबालिकाहरुले पढाइलाई निरन्तरण दिन नसकेको अवस्था छ । सरकारले यस समस्याप्रति चासो देखाएको छैन् ।’
वडामा ११ र १२ कक्षाको पढाइ संञ्चालन गर्न वडामा रहेको दहकालिकास्थान माध्यमिक विद्यालयमा सञ्चालनका लागि अनुमति दिन गाउँपालिका शिक्षा शाखा र जिल्ला शिक्षा समन्वयमा निरन्तर छलफल गरिरहेको आदर्श गाउँपालिका—७ दहकालिकास्थानका वडाध्यक्ष लालबहादुर बिष्टले बताउनु भयो ।
भौगोलिक बनावटले गर्दा वडामा रहेकाबस्तीहरु टाँढाटाँढा छरिएर रहेका कारण विद्यार्र्थीहरुको विद्यालयसम्म सहज पहुँच हुन नसकेको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले बताउनु भयो ।
विद्यार्थीहरुको सहज पहुँचका लागि गाउँपालिकाको वडा नम्बर ७ मा रहेको दहकालिकास्थान माध्यमिक विद्यालयललाई ११ र १२ कक्षा पनि सञ्चालन गर्न अनुमति दिने तयारी गरिरहेको समेत गाउँपालिकाका अध्यक्ष खड्काले बताउनु भयो ।