INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न प्रतिबद्धता

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न इलामका दलहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय इलामले जेठ २३ गते सदरमुकाममा आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रियामा सहभागी दल तथा सङ्घसंस्थाका प्रतिनिधिले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका हुन् ।

Photo20170606Ilam

जिल्लामा बालबालिकाले दलको झण्डा बोक्ने, भेष्ट-टिसर्ट लगाउने झण्डा राखेका गाडीले विद्यार्थी ओसार्ने क्रम बढेपछि जिल्ला निर्वाचन कार्यालयले बालबालिका निर्वाचनमा प्रयोग नगर्न आग्रह गर्दै प्रतिबद्धता जनाउन आग्रह गरेको थियो ।

जिल्ला स्थित नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी, सङ्घीय लिम्बुवान, क्रान्तिकारी माओवादीलगायतका दलका प्रतिनिधिले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश नवराज दाहालले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न र सरकारी कर्मचारी तथा शिक्षकहरूलाई समेत दलको भोट माग्न हिँडेको पाइएमा कारबाही गरिने बताए ।

मुख्य निर्वाचन अधिकृत दाहालले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै दलहरूलाई सार्वजनिक स्थलमा राखिएको आआफ्ना झण्डा २४ घण्टा भित्र निकाल्न निर्देशन दिएका छन् ।

अन्य

भिडियो