INSEC Online

📅 २०८३ जेष्ठ २१

त्रास हटाए मात्र निर्वाचन सफलः पूर्व अध्यक्ष उपाध्याय

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश केदारनाथ उपाध्यायले दोश्रो चरणको स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन राजनितिक दल र नागरिक समाजको योगदान महत्वपूर्ण हुने बताएका छन् ।

Photo20170605Saptariलोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्था र शान्तिको लागि साझा अभियानद्वारा जेठ २२ गते राजविराजमा आयोजित ‘स्वतन्त्र, निस्पक्ष र विश्वसनिय निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रशासनले हतियारसहितको प्रहरी मतदान स्थलमा तैनाथ गर्दैमा निर्वाचन निष्पक्ष र विश्वसनणीय हुन्छ भन्ने सुनिश्चितता नहुने भन्दै उनले स्वयम् मतदाताको मनबाट डर र त्रास हटाए मात्रै निर्वाचन सफल हुने दावी गरे । उनले त्यसका लागि राजनितिक दल, नागरिक समाज र सरोकारवाला सबै पक्ष सम्वेदनशील हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आयोगका पूर्व सदस्य एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले निर्वाचन आयोग लाचार भएको आरोप लगाए । सरकारले गरेका हरेक निर्णय खुरुखुरु मान्दै जाने र आफ्नो विवेक प्रयोग नगर्नाले निर्वाचन आयोगको लाचारी छताछुल्ल भएको उनले बताए । निर्वाचनको अर्थ उम्मेदवार छान्ने प्रकृया मात्रै नभई जनताको अधिकार रक्षा गर्नु पनि रहेको भन्दै प्याकुरेलले त्यसमा निर्वाचन आयोग र सरकार चुकेको दावी गरे ।

पहिलो चरणको निर्वाचनमा आयोग विवादमा तानिएकाले दोश्रो चरणको निर्वाचनको निष्पक्षतामा शङ्का उत्पन्न गराएको उनले बताए । भरतपुरमा भएको ‘अपराध’लाई निरूपण गर्ने क्रममा आयोग विवादमा तानिएपछि जनमानसमा अविश्वासको वातावरण उत्पन्न भएको उनको भनाइ थियो ।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेकपा (एमाले)का केन्द्रिय सदस्य सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, राजनीतिज्ञ खुशीलाल मण्डल, नेपाल बुद्धिजिवी परिषद्का नथुनी दास, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेल, जिल्ला निर्वाचन अधिकारी महेश ठाकुर, नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, पूर्व अध्यक्ष विष्णुकुमार मण्डललगायतले निष्पक्ष निर्वाचनका लागि अबलम्वन गर्नुपर्ने पद्धति र प्रकृयाका बारेमा आ-आफ्नो सुझाव प्रस्तुत गरे ।

अन्य

भिडियो