INSEC Online

📅 २०८३ जेष्ठ २१

ग्रामीण भेगमा मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाको जोड

आसन्न स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम ग्रामीण भेगमा प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् ।

Photo20170605Darchula

दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा ग्रामीण भेगमा मतदाता शिक्षा प्रभाकारी हुन नसकेको भन्दै कार्यक्रमका सहभागिहरूले यस्तो कुरामा जोड दिएका हुन् ।

जेठ २२ गते जिल्ला निर्वाचन कार्यालय दार्चुलाले आयोजना गरेको अन्तरक्रियाका सहभागिहरूले निर्वाचनलाई प्रभावकारी बनाउन मतदाता शिक्षा प्रभावकारी हुनुपर्ने कुरामा जोड दिएका हुन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित र शान्तिपूर्वक एवम् भयरहित बतावरणमा सम्पन्न गराउन मतदाता शिक्षा पहिलो आवश्यकता भएकोस्थानीय केशव भट्टले बताए ।

Photo20170605Darchula1

‘कुनै कुनै क्षेत्रमा निर्वाचन शिक्षा कार्यकर्ता पुगेकै छैनन् ।’-भट्टले भने-‘गाउँघर सम्मै मतदाता शिक्षा कार्यकर्ता नपुगेपछि मतदाताले भोट हाल्ने तरीका कसरी थाहा पाउन?’

Photo20170605Darchula2

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गणेशसिह खत्रीले नमूना मतदानका कार्यक्रमहरू हरेक स्थानीय तहसम्म गर्नुपर्नेमा सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दलहरूले समेत कार्यकर्ता खटाउनुपर्ने बताए । राजनीतिक दलहरूले नमूना मतपत्र लिएर मतदाता शिक्षा दिए बदर मत घटाउन सहयोग पुग्ने बताउँदै प्रजिअ कोइरालाले आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन सबैसँग आग्रह गरे ।

Photo20170605Darchula3

प्रमुख निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले अहिलेको अवस्थामा बदर मत घटाउने ग्रामीण भेगसम्मै गएर निर्वाचन कार्यालयले गर्न नसक्ने भन्दै सरोकारवाला सबै निकायले सहयोग गर्नुपर्ने बताए । जिल्ला निर्वाचन अधिकृत तुलसीराम पाण्डेले केही क्षेत्रमा यार्सागुम्बा खोज्न लेक गएका कारण मतदाता शिक्षा प्रभावकारी हुन नसकेको गुनासो आएको बताए ।

उनले अन्य क्षेत्रहरूमा समेत निर्वाचन शिक्षा कार्यकर्ता नपुगेको भए थप सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए । दार्चुलाको अपि हिमाल गाउँपालिका, व्यास गाउँपालिकाका अधिकांश मतदाता यार्सा सङ्कलनका लागि लेकतिर गएका छन् ।

Photo20170605Darchula4

खलङ्गामा कार्यालय प्रमुख, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, पत्रकार र केही सर्वसाधारणको उपस्थितिमा नमूना मतदान समेत गरिएको थियो । नमूना मतदानमा जम्मा ६५ जनाले भाग लिएकोमा ७ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दार्चुलाका नौ ओटै तहमा जम्मा १ सय २८ मतदान केन्द्र रहेका छन् भने कुल ७२ हजार ९ सय ६ जना मतदाता रहेका छन् ।

अन्य

भिडियो