सन् २०२२ मा सुदूरपश्चिममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार बढी व्यक्ति पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले फागुन ७ गते आयोजना गरेको सन् २०२२ मा सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था विषयक पत्रकार भेटघाट कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२२ मा सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १ हजार १ सय ८३ घटनामा १ हजार १ सय ९२ जना पीडित भएको तथ्याङ्क इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गर्नु भएको थियो ।
सार्वजनिक तथ्याङ्क अनुसार मानव अधिकार उल्लङ्घनका १५ घटनामा एक महिला र १४ पुरुष गरी १५ जना तथा ज्यादतीका १ हजार १ सय ७१ घटनामा १ हजार ७९ महिला र ९८ जना पुरुष गरी १ हजार १ सय ७७ जना पीडित भएको उल्लेख गरिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ५ सय ७ जना बढी पीडित भएको तथ्याङ्क इन्सेकका प्रदेश संयोजक जोशीले सार्वजनिक गर्नु भयो ।

उहाँले यस वर्ष राज्य पक्षबाट एक जनाको हत्या, कुटपिटका घटनामा एक जना, गिरफ्तारीमा १० जना, महिला अधिकार उल्लङ्घनका घटनामा एक जना र दुई जनाको जेलमा मृत्यु भएको बताउनु भयो ।
अन्य पक्षबाट हत्या घटनामा २९ जना, घाइतेका घटनामा ३५ जना, बाल अधिकारका घटनामा १ सय १ जना, जातीय विभेदका घटनामा पाँच जना, महिला अधिकारका घटनामा ९ सय ५५ जना, अमानवीय व्यवहारका घटनामा ६ जना, कुटपिटका घटनामा ४४ जना र धम्कीका घटनामा दुई जना पीडित भएको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत गणेश जोशीले इन्सेकले विस्तृत रुपमा सत्यतथ्य अध्ययन गरी विमोचन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक विस्वासिलो स्रोतको रुपमा स्थापित भएको बताउनु भयो ।
उहाँले भन्नु भयो—‘राज्यको व्यवस्था फेरिए पनि अवस्था उस्तै छ । मानव अधिकार संरक्षण गर्नका लागि प्रयाप्त कानुनी व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा पीडितले न्याय पाउन नसकेको अवस्था छ ।’

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले सन् १९९२ देखी हरेक वर्ष फागुन ७ गते नियमित रुपमा विमोचन तथा सार्वजनिकीकरण गर्दै आएको र यस वर्ष पनि सोही दिन नेपाल मानव अधिकार वर्ष पुस्तकको सार्वजनिक गर्ने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ, कैलालीका अध्यक्ष हिमाल जोशीले इन्सेकले सार्वजनिक गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक महत्वपूर्ण स्रोत पुस्तिकाका रुपमा रहेको र पीडितहरुको न्यायका पक्षमा पनि सरोकारवालाहरुले सयुक्त रुपमा थप पहलकदमी आवश्यक रहेको बताउनु भयो ।