INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई अदालतको आदेश अनुसार जेठ २१ गते धरौटीमा रिहा गरेपनि प्रहरीले रिहा लगत्तै सोही दिन पुनः गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता शारदा नपा-१ का घनश्याम बिक, दार्मा गाउँपालिका-३ का मोहन केसी, ढोरचौर गाउँपालिका-१ का सुकलाल बस्नेत र रोल्पा सुकिदह गाउँपालिका-४ का टोपबहादुर डाँगीलाई प्रहरीले गिरफ्तार गरेको हो । वैशाख २० र २२ गते अलगअलग स्थानबाट गिरफ्तार भएका उनीहरूलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको थियो ।

हिरासत र कारागारमा गरी एक महिना भन्दा बढी थुनामा रहेपछि उनीहरूलाई जेठ २१ गते प्रति व्यक्ति ५/५ हजार धरौटी तोकेपछि आवश्यक प्रक्रिया पुर्‍याएर बाहिर निस्कने बित्तिकै पुनः गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले बताए ।

सल्यानका प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीले पनि आफूहरूले अदालतको आदेश अनुसार धरौटीमा छोडे पनि निर्वाचनका बेला नराम्रो गतिविधि हुने भएकाले गृह मन्त्रालयकै निर्देशन अनुसार पुनः गिरफ्तार गरिएको बताए ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी सल्यानका इञ्चार्ज डिल्लीराज शर्माले आफूहरूको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको र निर्वाचन सकिँदा पनि कार्यकर्तालाई धरपकड र हस्तक्षेप गर्नु सरकारको नालायकीपन भएको आरोप लगाए ।

आफ्ना कार्यकर्तालाई प्रहरीले पुनः गिरफ्तार गरेको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जेठ २२ गते सल्यान जिल्ला बन्दको आह्वान गरेपनि बन्दको प्रभाव परेको छैन ।

अन्य

भिडियो