आफ्ना सहकर्मीमाथि कुटपिट गर्नेलाई कारवाही गर्नुपर्ने, ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने कार्य रोक्नुपर्ने तथा प्रदूषणका नाममा रकम असुली बन्द गर्नुपर्ने लगायत माग राख्दै ०७९ फागुन १ गतेदेखि संयुक्त रुपमा आन्दोलनमा उत्रिएका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरीको दुई ओटा भ्यान, एक ओटा अस्थायी प्रहरी बिट तथा दर्जनौँ ट्राफिक डिभाइडरमा आगजनी गरेका छन् ।
त्यस्तै प्रदर्शनकारीले बिरामी पुर्याएर फर्किएको एक ओटा एम्बुलेन्समा समेत तोडफोड गरेका छन् ।
आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले आफ्ना माग सार्वजनिक गर्ने क्रममा लोत्से मलका महाप्रबन्धक सुनिल कुँवर, सदस्य पंकज मल्ल, हिमाल कुँवर लगायतको टोलीले हातपात गरेको भन्दै नयाँ बसपार्कमा रहेको लोत्से मलमा पनि तोडफोड गरेका छन् ।
तोडफोडबाट मलमा रहेका मोबाईल र कपडा पसलमा समेत क्षति पुगेको छ ।
यातायात मजदुरहरूले गरेको आन्दोलनले उग्र रुप लिँदै प्रहरीमाथि ढुंगामुढा समेत गर्न थालेपछि प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन पाँच सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।
रिजालले प्रदर्शनकरीको ढुंगामुढाका कारण दुई जना प्रहरीहरू घाइते भएको र उनीहरूको पानीपोखरीस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको बताउनुभयो । उहाँका अनुसार प्रहरीमाथि ढुंगामुढा गर्ने चार जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत महाराजगंजमा राखिएको छ ।
त्यस्तै आफुँहरूले राखेका मागहरूको सम्बोधन हुनुपर्ने माग गर्दै आन्दोलनरत तीन यातायात मजदुर संगठनले फागुन २ गते काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात बन्दको समेत घोषणा गरेका छन् ।