चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको दायरामा ल्याउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।
०७९ माघ २७ गते संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट आउजाउ गर्दा घण्टौँ ट्राफिक जाम भई सर्वसाधारणले कष्ट व्यहोर्नु परेको, एम्बुलेन्सहरू समेत ट्राफिक जाममा पर्दा बिरामीहरू समयमै अस्पताल पुग्न नसकेको, बिरामीको उपचारका लागि अस्पताल जान लागेका चिकित्सकहरूमाथि समेत सुरक्षाकर्मीबाट हातपात र दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले माघ २९ गते प्रेस विज्ञप्ति मार्फत जनाएको हो ।
आयोगले उक्त घटनाको अनुगमन गरेको समेत विज्ञप्तिमा उल्लेख छ । राज्यका विशिष्ट व्यक्तिको सवारीमा उचित सुरक्षा प्रबन्ध गर्नु सुरक्षा निकायको दायित्व हो ।
तर विशिष्ट व्यक्तिको सुरक्षा प्रबन्ध गर्दा बिरामी, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका, आम सर्वसाधारण र उनीहरूले प्राप्त गर्ने सेवाप्रवाह भने प्रभावित हुनु हुँदैन आयोगले भनेको छ ।
यसले नागरिकको स्वास्थ्य सम्बन्धी हक, स्वतन्त्रपूर्वक आवतजावत गर्न पाउने हक र समानताको हक समेत प्रभावित हुन जाने विज्ञप्तिमा उल्लेख छ ।
अतः विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा समयसापेक्ष परिमार्जन गरी सवारी सुरक्षालाई चुस्त बनाउन, विशिष्ट व्यक्तिको सवारीका बेला आम सर्वसाधारणलाई पर्न सक्ने प्रभाव बारे गम्भीर बन्न आयोगले भनेको छ ।
घाइते चिकित्सकहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न तथा उक्त घटनाको छानविन गरी चिकित्सकमाथि हातपात र दुर्व्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीमाथि कारवाही गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।
साथै, प्रहरी अनुसन्धानका क्रममा गरिने स्वास्थ्य परीक्षण समयमै नगर्दा प्रमाण लोप समेत हुन सक्ने र समयमै उपचार नहुँदा गम्भीर प्रकृतिका बिरामीहरूको स्वास्थ्य समेत जोखिममा पर्ने हुँदा स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा बन्द नगर्न सम्पूर्ण चिकित्सकहरूलाई आग्रह गरेको आयोगका सहसचिव एवम् प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।