INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक र आयोगको संयुक्त टोलीद्वारा कारागार अनुगमन

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत र मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयले ०७९ माघ २६ गते सुर्खेत जिल्लाको जिल्ला कारागार संयुक्त रुपमा अनुगमन गरेको छ ।

अनुगमनमा कारागारको भौतिक अवस्था, खाना, सिधा तथा आरामको अवस्था, स्वास्थ्य जाँच उपचार, पुस्तकालय तथा मनोरञ्जन, भेटघाटको प्रवन्ध र अभिलेख लगायतका विषयमा अनुगमन गरिएको इन्सेकले जनाएको छ ।

अनुगमनका क्रममा पुरुष कैदी तथा थुनवा तर्फ शौचालय र ज्येष्ठ नागरिकका लागि औषधि उपचारमा समस्या रहेको ज्येष्ठ नागरिक दिलबहादुर मिजार र इन्द्रबहादुर सिजालीले अनुगमन टोलीसँग गुनासो गर्नु भएको थियो । मिजारले आफू पाइल्सको बिमारी भएको र सिजालीले पेट फुल्ने समस्या भएपनि औषधि नपाएको अनुगमन टोलीसँग गुनासो गर्नु भयो । यसैगरी पुरुष कैदीबन्दीतर्फ शौचालय प्रयोगमा पालो कुर्नुपर्ने, यसैगरी महिला कैदी बन्दीमा पर्याप्त मात्रामा खेलकुद सामग्री नरहेको, महिला कैदी बन्दीतर्फ टेलिभिजनको अभाव रहेको अनुगमनमा गएको टोलीलाई कैदी बन्दीले गुनासो गर्नु भएको थियो ।

१ सय जनाको क्षमता रहेको कारागारमा अनुगमनका क्रममा ४ सय ४ जना कैदी बन्दी रहेको पाइयो । जस अनुसार पुरुषतर्फ ३ सय ६२ जना कैदी तथा थुनुवा रहेका छन भने महिलातर्फ ४२ जना कैदीबन्दी रहेका छन् । यसैगरी कारागारमा ६ जना आश्रित बालबालिका रहेको जेलर लक्ष्मी खरेलले जानकारी दिनु भएको छ ।

अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख लोकनाथ बास्तोला, मानव अधिकार अधिकृत मानबहादुर कार्की, इन्सेकका प्रदेश संयोजक नारायण सुवेदी, प्रलेख अधिकृत पुरनप्रसाद चौधरी, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा रहनु भएको थियो ।

अनुगमन टोलीले जेलर लक्ष्मी खरेल, सुरक्षा निकायका प्रमुख कारागारका नाइके, कारागारका बन्दी तथा थुनुवा, महिला तथा पुरुष कक्षको अनुगमन गरेको इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भएको छ ।

अनुगमनका क्रममा क्षमता भन्दा बढी कैदी बन्दी बस्नु परेको, एउटै कोठामा ५३ जनासम्म बस्ने गरेको, भवनको बरण्डामा समेत बस्ने गरेको पाइएको मानव अधिकार आयोगका प्रदेश प्रमुख बास्तोलाले जानकारी दिनु भएको छ ।

Photo20230209Surkhet (6)

Photo20230209Surkhet (5)

Photo20230209Surkhet (4)

अन्य

भिडियो