दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितिले इलामका मतदान स्थलहरूको सुरक्षा अवस्थाको वर्गीकरण गरेको जनाएको छ ।
समितिले भौगोलिक स्थिति, सीमा क्षेत्रलगायतका स्थितिहरूको पहिचान गरी जिल्लाका २३ मतदान स्थललाई अति सम्वेदनशीलमा राखेको छ । यस्तै ३३ वटा मदतान स्थललाई सम्वेदनशील र बाँकीलाई सामान्य अवस्थामा राखेको इलामका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सबै मतदान स्थल र केन्द्रहरूमा सुरक्षा शतर्कता बढाइएको छ ।
मतदानमा सुरक्षाकालागि ८ सय ४३ जना म्यादी प्रहरी, करीब ३ सय ५० जना जिल्ला स्थित जनपथ प्रहरी र निर्वाचनकालागि बाहिरबाट आउने थप ४ सय ५० सुरक्षाकर्मी खटाइने डिएसपी श्रेष्ठले जानकारी दिए ।
‘हामीले निर्वाचनकालागि सबै सुरक्षा व्यवस्था मजबुद बनाएका छौँ । कहाँ कति संख्यामा सुरक्षा टोली खटिन्छ भन्ने कुराको निक्र्यौल गरी तयारी गरेका छौँ ।’-श्रेष्ठले भने-‘मतपत्र पुर्याउनेदेखि मतदानका लागि खटिने कर्मचारीहरूको सुरक्षा र मतपेटिकाको सुरक्षाकालागि प्रहरीले सबै तयारी पुरा गरेको छ ।’
निर्वाचनलाई लक्षित गरी जिल्लामा सुरक्षा गस्ती बढाइएको, मदिरा नियन्त्रणमा ध्यान दिइएको र राजनीतिक दलहरूको कार्यक्रमलाई समेत सुरक्षा दिइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।