आगामी असार १४ गते हुने दास्रो चरणको स्थनीय तह निर्वाचनमा मतदान कसरी गर्ने भन्ने बारे कोही सिकाउन घर घरमा नआएको मतदातले गुनासो गरेका छन् ।
भुमिकास्थान नपाको नुवाकोट र खिल्जिका मतदाहरूले भने-‘हामीलाई कसैले मतदान कसरी गर्ने ? मत कसरी बदर हुन्छ ? कसरी मतपत्र पट्याउने ? लगायतका विषयमा घरमा आएर कसैले सिकाएका छैनन् ।’
भुमिकास्थान नपा-६ की डल्ली बन्जाडेले भनिन्-‘हामीलाई भोट कसरी हाल्ने भन्ने सिकाउन कोही आएनन् । गाउँमा पढाउँदै हिडेका छन् भन्ने सुनेकी छु । तर, हामीसम्म आएनन् ।’
सोही ठाउँकी ४२ वर्षीया सीमा पुनले भनिन्-‘कर्मचारी र स्वयम्सेवक छनौट भएको र तालिम लिएर आएको भन्ने सुनेकी छु । तर, उहाँहरू घरघरमा आएर मतदाता शिक्षाको बारेमा सिकाएको जानकारी छैन ।’ मतदाता शिक्षाको बारेमा सबैलाई जानकारी नभएको उनले बताइन् ।
मतदाता शिक्षा कार्यकर्ता अनिषा बस्नेतले भनिन्-‘मतदाताहरूलाई हामीले घरघरमा र समूहमा गएर सिकाइरहेका छौँ । निवाचनको समय सरेपछि बिर्सनुभयो होला ।’ बिर्सिएका तथा थाहा भएन भन्ने कतदातासम्म पुगेर पुनः मतदान गर्न सिकाउने उनले बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोगको टोली र इन्सेकले जेठ २० गते भुमिकास्थान नगरपालिकाका मतदाताहरूसँग मतदाता शिक्षाको अवस्था र आचारसंहिताको अनगुनमन गरेका थिए ।
अनुगमन टोलीले सो ठाउँका मतदातालाई भेटेर मतदाता शिक्षाको अवस्थाबारे कुराकानी गर्दा अधिकांशले मतदाता शिक्षा प्रभावकारी नभएको, घरमा आएर नसिकाएको, स्वयम् मतदाता शिक्षा कार्यकर्तालाई नै मतदाता शिक्षा बारे पर्याप्त ज्ञान नभएकोलगायतका आरोप लगाउँदै गुनासो गरे ।