अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूह श्री लक्ष्मी माध्यमिक विद्यालय चित्रपुर र मानव अधिकार समूह बटेश्वरले श्री लक्ष्मी मावि बटेश्वर गाउँपालिका–१ चित्रपुरमा शिक्षक अभाव भएको भन्दै ध्यानाकर्षण पत्र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई माघ २५ गत बुझाएका छन् ।
बटेश्वर गाउँपालिका–१ चित्रपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा विषयगत शिक्षक अभावले विद्यार्थीहरूको पठनपाठन ६ महिनादेखि प्रभावित भएको छ । विषयगत शिक्षक अभावका कारणले पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । विद्यालयमा अंग्रेजी र सामाजिक विषयको शिक्षक अभाव रहेको छ भने विज्ञान शिक्षकले अध्यापन गराउँदा विद्यार्थीहरूले नबुझ्ने गरेकाले अविलम्ब शिक्षकको व्यवस्थापन गर्न माग गर्दै बाल अधिकार समूह र मानव अधिकार समूहले ध्यानाकर्षण पत्र बुझाएको हो ।

माघ २२ गते विद्यार्थीहरू वडा कार्यालयमा वडाध्यक्ष अशोक कुमार महतोलाई ध्यानाकर्षण गराउन गएका थिए । वडा कार्यालयमा वडाध्यक्ष नभेटेपछि आन्दोलित विद्यार्थीहरूले सडकमा टायर बाल्दै विरोध जनाएका छन् । आक्रोशित विद्यार्थीहरूको भिडले वडा कार्यालयमा तोडफोड समेत गरेका छन् । लामो समयदेखि वडाध्यक्ष र प्रधानाध्यापकसँग अंग्रेजी, समाजिक र विज्ञान विषयको शिक्षकको माग गर्दा समेत चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रेको विद्यार्थीहरुले बताएका हुन् । एसईई परीक्षा अब डेढ महिनामात्र बाँकी रहँदासमेत पढाइ नभएको विद्यार्थीहरूको गुनासो छ ।