INSEC Online

📅 २०८३ जेष्ठ २१

भरतपुर महानगर वडा नं- १९ मा पुनः मतदानः आयोग

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं- १९ मा पुनः मतदान गराउने निर्णय गरेको राससले जनाएको छ ।

जेठ २० गते बसेको आयोगको बैठकले सो वडाको सम्पूर्ण मत अवैध घोषित गरी पुनः मतदान गराउने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नयाँ निर्वाचनको मिति तोकेर मतदान गर्ने व्यवस्था गराउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जानकारी दिए ।

‘विभिन्न प्रतिवेदनको अध्ययन गर्दा मतगणनास्थल अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा यसबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं-१९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषित गरी पुनः मतदान गर्ने’-आयोगको निर्णयमा उल्लेख छ ।

भरतपुर महानगरपालिका वडा नं -१९ मा ९० मत च्यातिएको फेला परेको थियो । आयोगको टोली र सहमहान्याधिवक्ता नेतृत्वको टोलीले दिएको प्रतिवेदनका आधारमा पुनः मतदान गराउने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

यस्तै आयोगले ‘मतदान रद्द गरिएको मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने’ निर्णय गरेको छ ।

नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाको वडा नं-१९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने जनाएको छ ।

एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा जेठ २० गते बसेको एमाले स्थायी कमिटीको बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै प्रतिवाद गर्ने र यसका लागि कानुनीलगायत सबै प्रकारको उपचारमा जाने निर्णय गरेको हो ।

सो महानगरपालिकाको वडा नं-१९ को मतगणना जारी हुँदा केही मतपत्र च्यातिएको घटनाको छानबिनपछि आयोगले सो वडामा पुनः मतदानमा जाने निर्णय गरेको थियो । यही विषयमा पुनःमतगणना हुनुपर्ने माग राखी एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।

बैठकपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगले मुलुकमा निर्वाचन गराउने दायित्वभन्दा सत्तारुढ दलको दबाव र प्रभावमा परेर यस्तो निर्णय गरिएको आरोप लगाउँदै यो प्रकरण यत्तिकै सकियो भन्ने नसोच्न आग्रह गरे ।

यसैबिच प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने-‘स्थगित मतगणना कार्यक्रम मतदानद्वारा टुङ्गोमा पुर्‍याउने निर्णय भएको छ ।’

प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने-‘हामीले निर्णय गर्दा व्यवस्थापिका-संसद्ले बनाएको स्थानीय तहको कानुनको दफा ४९ र ५० लाई आधार मानेका छौँ । हामीले आफ्नो तर्फबाट केही निर्णय गरेका छैनौँ ।’

उक्त घटनामा ७० वटा मतपत्र गणना गर्नै नमिल्ने गरी च्यातिएको थियो भने २० वटा मतपत्र गन्ती गर्न सकिने अवस्थामा रहेको राससले जनाएको छ ।

इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार निर्वाचन आयोगको निर्णय विरुद्ध नेकपा एमाले चितवनले जेठ २० गते साँझ नारायणगढमा मसाल जुलुस निकालेको छ । आयोगले पुनः मतदानको घोषणा गरेपछि सम्भावित घटना हुन नदिन जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

त्यस्तै चितवनमा रहेका चार दलले २० गते साँझ विज्ञप्ति जारी गरी आयोगको पुन मतदानको निर्णयको विरोध गरेका छन् । विज्ञप्तिमा नेकपा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल, नेकपा मालेका सदस्य सन्तोष श्रेष्ठ, नयाँ शक्ति पार्टीका सहसंयोजक पदम गुरुङ र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष अमरबहादुर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

अन्य

भिडियो