भेरी नगरपालिका–६ का ४७ वर्षीय काले कामीलाई हत्या गरेको आरोपमा मृतकको पत्नी ५० वर्षीय भद्रकला लुहार र १८ वर्षीय छोरा तुल्सीराम विकलाई प्रहरीले ०७९ माघ १७ गते गिरफ्तार गरेको छ ।
पत्नी र छोराले हत्या गरी शौचालयको खाडलमा फालेको अवस्थामा काले कामीको शव पाँच वर्षपछि प्रहरीले फेला पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, जाजरकोटबाट खटिएको प्रहरी टोलीले माघ १७ गते शौचालयको खाडलमा शव फेला पारेको घटनाका सम्बन्धमा माघ १८ गते पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डीएसपी सन्तोष निरौलाका अनुसार २०७४ पुस ३० गते राति भद्रकलाले आफ्ना पतिलाई निधारमा लाठीले हानेर हत्या गरेको सूचना पाइएको छ । डीएसपी निरौलाले भन्नु भयो “हत्यामा उनका छोराहरू तुल्सीराम विक र गोविन्द विक पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।” काले कामीको हत्या गरिएपछि भद्रकला र छोराहरूले सल्लाह गरी घर नजिकैको शौचालयको खाडलमा पुरेको प्रहरीले जानकारी दिएको छ ।
यस विषयमा ०७९ माघ १७ गते प्रहरीलाई गोप्य सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सूचनापछि जिल्लाबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेर शौचालयको खाडल खनेको र खाडल खन्दा खाडलमा दाँतसहितको खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी प्रहरीले भेटाएको थियो ।
घटनाको विषयमा आवश्यक थप अनुसन्धानका लागि भद्रकला र उनका छोरा तुल्सीराम विकलाई ०७९ माघ १७ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा ल्याइएको पत्रकार सम्मेलनमा डीएसपी निरौलाले जानकारी दिनु भएको छ ।