१४ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिकाको–४ बजारस्थित समाजकल्याण बाल अनाथालयका प्रमुख ५१ वर्षीय शंकरबहादुर चन्दलाई माघ १७ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०७९ पुस १८ गते बलात्कार गरको भन्दै पीडित पक्षले माघ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाहरुलाई आारोपित चन्दले लामो समयदेखि यौन शोषण तथा बलात्कार गर्दै आएका र एक जना बालिकाको गर्भ पतन समेत गरेको सूचना बाहिरिएपछि घटना सार्वजनिक भएकोले घटनामा संलग्न व्यक्तिलाई कार्वाही गरिनु पर्ने अधिकारकर्मी भगवती थापाले बताउनु भयो ।
समाजकल्याण बाल अनाथालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर चन्दले घटनाका सम्बन्धमा यसभन्दा अगाडी कुनै सूचना प्राप्त नभएको र अकस्मात कार्यालय प्रमुख चन्दलाई गिरफ्तार गरिएको जानकारी पाएको बताउनु भयो ।
उहाँले घटनाको सत्यतथ्य रुपमा अनुसन्धान गरी घटनामा संलग्न जोकोही भए पनि कार्वाही हुनु पर्ने बताउनु भयो ।
पीडित बालिकाहरुको स्वास्थ्य परीक्षण माघ १७ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।