निर्वाचनलाई स्वच्छ र व्यवस्थित गर्नका लागि नागरिक समाजको भूमिका महत्वपुर्ण हुने स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा जेठ १९ गते महेन्द्रनगरमा आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्याकुरेलले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष प्याकुरेलले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्र नभई नागरिक अगुवा, नागरिक समाज र राजनीतिक दलहरूको समेत जिम्मेवारी रहेको बताए । उनले निर्वाचन शिक्षामा सञ्चारकर्मीहरूको भूमिका अझै महत्वपूर्ण हुने बताए ।
आधारभुत रूपमा आवश्यक पर्ने खाद्य, शिक्षा, स्वास्थ्य, वन जङ्गललगायतका विषयमा स्थानीय तहले आवश्यक निर्णय गर्ने भएकाले पछाडि पारिएका व्यक्ति र समूहको समेत स्थानीय तहमा नेतृत्वको अवसर मिल्ने बताए । पहिलो चरणको निर्वाचनमा ५४ प्रतिशत जनजातिले जितेको बताउँदै अध्यक्ष प्याकुरेलले जितेका उम्मेदवारहरूको क्षमता अभिवृद्धिमा जोड दिए ।

कार्यक्रममा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सहअध्यक्ष एवम् नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले निर्वाचन स्वच्छ र भयरहित बनाउनमा सबैले चनाखो भएर लाग्नु पर्ने बताए । उनले मतहरू बदर हुननदिन पर्याप्त रूपमा मतदाता शिक्षाको व्यवस्था गरिनुपर्ने बताए ।

त्यसैगरी नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मीले अहिलेसम्म सरकारमा रहेका राजनितिक दलहरूले उमेदवार टुङ्गो नलगाएकोले निर्वाचन हुनेमा नै शङ्का रहेको बताए ।
सहभागिहरूले मतदाता शिक्षा कार्यक्रम तीव्र रूपमा सञ्चालन गर्नु पर्ने, मतदाताको मनोबल बढने खालका कार्यक्रम गर्नु पर्ने र निर्वाचनसम्बन्धी राम्रो संस्कार र संस्कृति बसाल्नु पर्ने राजनीतिक दलहरूलाई सुझाव दिए ।