बेनी नगरपालिका– १ मा अपाङ्गता भएका र जेष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । ०७९ माघ १४ गते बेनी नगरपालिकाको अर्जम तथा रत्नेचौर क्षेत्रका अपाङ्गता भएका तथा जेष्ठ नागरिकलाइ सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो । उक्त क्षेत्रमा ‘क’ बर्गको अपाङ्ग आठ जना एवम् ‘ख’ बर्गका अपाङ्ग सात गरी १५ जना सहित एक सय ८० जनालाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरीएको हो ।
नेपालको संविधान बमोजिम आर्थिक रूपले बिपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने उद्देश्यले राज्यले सामाजिक सुरक्षा ऐन–२०७५ बमोजिम सामाजिक सुरक्षा भत्ता बितरण गर्ने गरेको छ ।
बेनी नगरपालिका–१, रत्नेचौरकी ८६ वर्षीया जसिकला कार्कीलाई परिवारका सदस्यहरूले घर बाहिर पारिलो घाममा बिस्तारा लगाएर सुताउनुभएको थियो । त्यत्तिकैमा वडा अध्यक्ष टेकबहादुर थापासहित वडा सदस्यहरू र कृषि बिकास बैंकका प्रतिनिधिहरू घरमै पुगेर जसिकलाको नाममा जारी भएको चेकमा ल्याप्चे लगाएर चेक तयार भयो । तीन महिनाको मासिक चारहजार रुपियाँका दरले १२ हजारको चेक बनाएर घरको आँगनमा सुतीरहनुभएकी जसिकलालाई रकम हस्तान्तरण गरियो ।
जसिकलाको उमेर बढेसँगै विभिन्न रोगले च्याप्दै गरेपछि नियमित रूपमा औषधी प्रयोग गर्दै आउनुभएको जेठी बुहारी धनकुमारी कार्कीले बताउनुभयो । पछिल्लो तीन वर्षदेखि बिस्तारामै पर्नुभएकी जसिकलाको परिवारका लागि सामाजिक सुरक्षाभत्ता घरमै ल्याइदिदा सहज भएको उहाँको भनाइ छ । पहिला गाडीमा हालेर बैंकसम्म लैजानुपर्ने बाध्यता थियो भने वडाध्यक्ष टेकबहादुर थापाले पहल गरेर बैंकको टोली गाउँमै आएर भत्ता दिँदा हामी मात्रै नभै अरू ज्येष्ठनागरिक र अपाङ्गता भएकालाइ पनि सजिलो भएको धनकुमारीले बताउनुभयो ।
बेनी नगरपालिका–१, रत्नेचौरका वडा अध्यक्ष थापाले रत्नेचौरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राही असक्त तथा अपाङ्गता समेत भएका धेरै भएकाले गाउँमै भत्ता वितरणको व्यवस्था मिलाएको बताउनुभयो । गएको वैशाखमा निर्वाचित भएर आएपछि चालु आर्थिक वर्षको पहिलो छ महिनाको भत्ता गाउँमै बितरणको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।
बेनी नगरपालिकाको वडानम्बर १, ७ र ८ मा सामाजिक सुरक्षाभत्ता वितरणको जिम्मेवारी लिएको सरकारी बैंक कृषि विकास बैंकले रत्नेचौरमै पुगेर भत्ता बाँडेको हो । बेनी नगरपालिका–१, रत्नेचौरमा पोषण भत्ता पाउने बालबालिका समेत गर्दा कुल चारसय दुई जनाले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने बैंकको म्याग्दी शाखा प्रवन्धक शंकरदेव मल्लले जानकारी दिनुभयो ।

