गत जेठ १४ गते भरतपुर महानगरपालिकाको मतगणनाकै क्रममा मतगणना प्रतिनिधिले नै मतपत्र च्यातेपछि स्थगित मतगणनालाई अबिलम्ब सुचारु गर्न जबाफदेहीता निगरानी समितिका सदस्यहरूले आग्रह गरेका छन् ।
‘दोस्रो चरणको निर्वाचनको प्रक्रिया सुरु भइसकेको परिस्थितिमा भरतपुर महानगरपालिकाको घटनाले पार्न सक्ने गलत प्रभावलाई मध्यनजर गर्दै क्षति पुर्याइएका मतपत्र एकीन गरी मतगणना जारी राख्नु नै वैद्य बाटो हो ।’-जेठ १८ गते जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमार्फत लोकतन्त्रलाई घातक र दण्डहीनतालाई प्रश्रय दिने गलत नजिर बस्न नदिने आयोगको दायित्व रहेको कुरा ध्यानाकर्षण गराइएको छ ।
उक्त विज्ञप्तिमा जबाफदेहीता निगरानी समितिका अध्यक्ष चरण प्रसाई, अधिवक्ता डा. दिनेश त्रिपाठी, देवी सुनार, महामुनिश्वर आचार्य, ओमप्रकाश अर्याल, राजुप्रसाद चापागाईँ, सुमन अधिकारी, सावित्री श्रेष्ठ, शिव विशङ्खे र कनकमणी दिक्षितले हस्ताक्षर गरेका छन् ।