INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता र कानुनको पालना गरे निर्वाचन स्वच्छ हुन्छः अध्यक्ष प्याकुरेल

आचारसंहिता र कानुनको पालना गरे निर्वाचन स्वच्छ हुने स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा भिजन टेलिभिजनसँगको सहकार्यमा जेठ १८ गते नेपालगञ्जमा आयोजित मानव अधिकार र निर्वाचन विषयक टेलिभिजन संवाद कार्यक्रममा अध्यक्ष प्याकुरेलले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्याकुरेलले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्र नभई आम नागरिक, नागरिक समाज र राजनीतिक दलहरूको समेत जिम्मेवारी भएको बताउँदै निर्वाचन शिक्षामा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

संसारका सबै अधिकारकर्मीले सामाजिक न्याय खोजेको बताउँदै अध्यक्ष प्याकुरेलले सामाजिक न्यायका लागि लोकतन्त्रको प्रणाली, मानव अधिकार तथा कानुनी शासनको कार्यान्वयन हुनु पर्नेमा जोड दिए । स्थानीय तहलाई न्यायिक सम्पादन गर्ने जिम्मेवारी दिइएको प्रसङ्गमा अध्यक्ष प्याकुरेलले गाउँपालिकाका उपाध्यक्ष तथा नगरका उपमेयरलाई राम्रो अवसर मिलेको बताए ।

मानव जीवनमा आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, वन जङ्गललगायतका विषय स्थानीय तहले टुङ्ग्याउने बताउँदै अध्यक्ष प्याकुरेलले पछाडि पारिएका व्यक्ति र समूहलाई स्थानीय तहले अवसर दिएको बताए । पहिलो चरणको निर्वाचनमा ५४ प्रतिशत जनजातिले जितेको बताउँदै अध्यक्ष प्याकुरेलले जितेका उम्मेदवारहरूको क्षमता अभिवृद्धिमा जोड दिए ।

कार्यक्रममा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सहअध्यक्ष एवम् नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले निर्वाचन स्वच्छ र भयरहित नभए लोकतन्त्र संस्थागत हुन नसक्ने बताए । पहिलो चरणको निर्वाचनमा नागरिकको सुरक्षामा निर्वाचन भएको बताउँदै अध्यक्ष अर्यालले दोस्रो चरणको सुरक्षा प्रबन्ध मिलाउन स्थानीय प्रशासन अलि बढी चनाखो हुनुपर्ने बताए ।

अध्यक्ष अर्यालले वस्तुनिष्ठमा आधारित भई आफ्नो भूमिका निर्वाह गर्न पर्यवेक्षकलाई अनुरोध गरे । आफ्नो पार्टीको उम्मेदवारलाई कसरी जिताउने भन्नु भन्दा पनि आफ्ना कार्ययोजना र विचारलाई जनता माझ लैजान उनले राजनीतिक दललाई सुझाव दिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सांसद बादशाह कुर्मीले निर्वाचन आयोगमा दर्ता नभएका तर निर्वाचनमा जान चाहने दललाई दर्ता हुने समय दिनुपर्ने बताए । नेकपा एमालेका सांसद दिनेशचन्द्र यादवले निर्वाचनमा धाँधली भए त्यसको जिम्मेवारी राजनीतिक दलहरूले लिनुपर्ने बताए । नेकपा एमालेका सांसद देवराज भारले सरकारमा सहभागी पार्टीले निर्वाचन आचारसंहिताको उल्लङ्घन बढी गरेको आरोप लगाए ।

नेपाली काङ्ग्रेसका सभापति किरण कोइराला, नेकपा एमालेका अध्यक्ष अशोक कोइराला, नेकपा माओवादी केन्द्रका संयोजक आइपी खरेल, फोरम लोकतान्त्रिकका अध्यक्ष फुलाराम थारूलगायतले स्थानीय तह निर्वाचनमा जनताको मन जितेका उम्मेदवारलाई सिफारिस गरिएको बताए ।

त्यसैगरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले आचारसंहिताको उल्लङ्घन आर्थिक हिसाबले हुने गरेको बताउँदै दलहरूलाई चन्दा नमाग्न आग्रह गरे । कार्यक्रममा राजनीतिक दलका कार्यकर्ता, नागरिक समाज, कानुन व्यवसायी, द्वन्द्व पीडित, एकल महिला, अपाङ्गको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

सहभागिहरूले मतदाता शिक्षा कार्यक्रम तीव्र रूपमा सञ्चालन गर्नु पर्ने, मतदाताको मनोबल बढने खालका कार्यक्रम गर्नु पर्ने र निर्वाचनसम्बन्धी राम्रो संस्कार र संस्कृति बसाल्नु पर्ने राजनीतिक दलहरूलाई सुझाव दिए । पछिल्लो दिनमा निर्वाचन महङ्गो हुँदै आएको बताउँदै सामान्य परिवारका व्यक्ति पनि निर्वाचनमा उठन सक्ने अवस्था हुनु पर्ने सहभागिहरूले सुझाव दिए । यसैगरी सहभागिहरूले निर्वाचनका क्रममा बालबालिकाको प्रयोग नगर्न अनुरोध गर्दै राजनीतिक दलबिच एक आपसमा समन्वय र सहकार्य गर्दै आपसी समझदारी बढाउन दलहरूलाई अनुरोध गरे ।

अन्य

भिडियो