असार १४ गते गर्न लागिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा डडेल्धुराका राजनीतिक दलहरूले बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।
दलहरूले निर्वाचनमा हुने राजनीतिक गतिविधिमा बालबालिकाको ‘अनुचित’ प्रयोग नगर्ने दलका प्रतिनिधिसँगै सरोकारवाला निकायले प्रतिबद्धता जनाएका हुन् ।
निर्वाचन प्रचारप्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग नगर्ने/नगराउने, विद्यालय हाताभित्र बलबालिकाको अध्ययनमा बाधा पुग्ने गरी कुनैपनि क्रियाकलाप नगर्ने र विद्यालय हाता भित्र राजनीतिक दलका कार्यक्रम (प्रचारप्रसार, भित्तेलेखन, आमसभा आदि) नगर्ने प्रतिबद्धता जनाइएको छ ।
जिल्लामा क्रियाशील राजनीतिक दलहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने जनाएका छन् ।