भरतपुर महानगरपालिकामा वैशाख ३१ गते सम्पन्न भएको निर्वाचनको मत परिणामलाई असर पुर्याउने गरी जेठ १४ गते राति मतपत्र च्यात्ने कार्य भएको घटनाप्रति स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले ध्यानाकर्षण भएको जनाएको छ ।
‘केही मत गणना गर्न बाँकी रहँदा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको प्रहरी अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जेठ १५ गते बिहान १ बजेर २० मिनेटको समयमा सूचना टाँस गरी अनिश्चितकालका लागि मत गणना रोकिएको जानकारी गराएका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा माओवादी केन्द्रका कार्यकर्तालाई घटनास्थलबाटै गिरफ्तार गरी मुद्दा दायरसमेत गरेको छ । ‘-स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा जेठ १७ गते जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा मतगणनास्थलमा रहेका नेपाल प्रहरीका एसपी दीपक थापाले घटनाका बारेमा सार्वजनिक गरेको विवरणमा मतपत्र च्यात्ने कार्यमा माओवादी केन्द्रका कार्यकर्ताको संलग्नता रहेको बताउनुका साथै प्रहरीले घटनाका आरोपित माओवादी केन्द्रका कार्यकर्तालाई गिरफ्तार गरी अदालतमा मुद्दासमेत दायर गरिसकेको जनाइएको छ । ‘मतपत्र च्यात्ने कार्य अक्षम्य अपराध हो । यसलाई यसैगरी हेर्नु जरुरी हुन्छ । घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न र यस्ता हरकतहरू भविष्यमा नदोहोरिउन भन्नेतर्फ निर्वाचन आयोगले विशेष सावधानी अपनाउनुपर्छ ।’-अभियानले भनेको छ ।