१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका–९ का १९ वर्षीय उद्धव थापा मगरलाई १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्य पुस २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै मगरलाई कैद सजायसँगै २० हजार रुपियाँ जरिबाना र २० हजार रुपियाँ क्षतीपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार नविन खनालले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७८ पुस ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध
जिल्ला प्रहरी कार्यालयमा ०७९ जेठ १४ गते उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले जेठ १४ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०७९ असार ६ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको असार ७ गतेको आदेशमा आरोपित १ लाख रुपियाँ धरौटी बुझाएर तारेखमा रिहा भएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १४ गते गरिएको थियो ।