राजविराजमा प्रहरीसँगको झडपमा राजपा नेपालका कार्यकर्ताहरू राजविराज नपा-२ का ३५ वर्षीय सतिशकुमार सिंह, राजविराज नपा-७ का ४५ वर्षीय सुरेशकुमार सिंह र राजविराज नपा-९ का ४० वर्षीय दिपेन्द्र चौधरी घाइते भएका छन् ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनको विरोधमा घोषित आन्दोलनको कार्यक्रम अनुसार राजविराज नपा-७ स्थित मुख्य निर्वाचन अघिकृतको कार्यालयमा तालाबन्दी गर्न गएका प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा उनीहरू सामान्य घाइते भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयको मुल ढोकामा तालाबन्दी गर्न खोज्दा घम्साघम्सीका बिच प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरेको एसपी अनुरागकुमार द्विवेदीले बताए । उनका अनुसार थप अप्रिय घटना हुन नदिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
यसैगरी छिन्नमस्ता गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमासमेत राजपाका सत्यनारायण यादव नेतृत्वको टोलीले तालाबन्दी गरेको छ । तालाबन्दी गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच सामान्य झडप भएको छ ।
नौ ओटा नगरपालिका र आठ ओटा गाउँपालिकासहित १७ ओटा स्थानीय तह रहेको सप्तरीमा आसन्न स्थानीय तहको निर्वाचनका लागि जेठ ६ गते राजविराजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जेठ १५ गते निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना गरिएको छ ।